गुल्मीको धार्मिक क्षेत्र कालीगण्डकीमा मकर सङ्क्रान्तिको अवशरमा बिहानैदेखि श्रद्धालुको घुँईचो

admin

२०८२ माघ २ गते, बिहीबार ०८:३२ मा प्रकाशित

गुल्मी, १ माघ । मकर सङ्क्रान्तिको अवशरमा आजदेखि गुल्मीको पबित्र धार्मिक स्थल कालीगण्डकीमा बिहानैदेखि श्रद्धालुहरुको घुँईचो लागेको छ । मकर सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्नका लागि गुल्मी लयायत छिमेकी जिल्लाहरुवाट समेत श्रद्धालुहरुको बिहानैदेखि बाक्लो उपस्थीति रहेको छ ।

रुरुक्षेत्रमा रहेको काली गण्डकी नदीमा स्नानगरि नजिकै रहेको भगवान हृषीकेश मन्दिरमा पुजाआजा गर्न जाने प्रचलन छ । आजको दिन कालीगण्डकी नदीमा पुगेर स्नान गरेमा आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । रुरुक्षेत्र नेपालकै चारधाम मध्यको एक धाम मानिन्छ । यो पबित्र धार्मिक स्थल पुगेर पुजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भईन्छ भन्ने जनविश्वास छ । यस्तै आस्था र विस्वासका कारण कालीगण्डकीमा स्नान गर्नका लागि भारतबाट समेत भक्तजनहरु रिडीमा आईपुगेका छन ।

रुरुक्षेत्र गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल पनि हो । गुल्मीमा विषेशगरि जेठी, माईली र कान्छी सङ्क्रान्ति गरि तीन दिनसम्म मकर सङ्क्रान्ति पर्व मनाईन्छ । मकर सङ्क्रान्ति पर्वको अवशरमा रुरुक्षेत्रमा जिल्ला स्तरी कृषि मेला प्रर्दशनी राखिएको छ । स्थानीय रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण कार्यक्रम लगायतको आयोजनामा रैथानेवाली संरक्षणका लागि उक्त प्रर्दशनी राखिएको मेला आयोजक सकितिचका संयोजक ताराप्रसाद सुबेदीले जानकारी दिनुभयो । किसानहरुले आआफ्नो क्षेत्रबाट ल्याएका स्थानीय सुन्तलाजात फलफुल, तरकारी, खाद्यान्न तथा विउवीजन लगायतका स्थानीय रैथाने वस्तुहरु प्रर्दशनीमा राखिएको छ ।

मकर सङ्क्रान्ति अवशरमा आजदेखि रुरु क्षेत्रमा छ दिनसम्म रिडी मेला समेत शुरु भएको छ । रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाको आयोजनामा सञ्चालित मेलामा विशेषगरि उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तु बिक्रिका लागि राखिएको छ । मेलाको अवशरमा यस्ता प्रकारका वस्तुहरुको राम्रो व्यापार हुने गर्दछ । मेलामा व्यापारका प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँवाट समेत व्यापारीहरु रिडी आईपुगेका छन ।

रिडी क्षेत्रका निर्माण भएको तीनमुखे झोलुङ्गे पुल र हालै निर्माण गरिएको कृतिम ताल हेर्न मेलाको मुख्य आकर्षक रहेका छन । कालीगण्डकीको संगम स्थल रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जिल्लालाई जोडनका लागि संघिय सरकारको सहयोगमा तीनमुखे झोलुङ्गे पुल निर्माण गरिएपछि पछिल्लो समयमा यस क्षेत्रमा आउने पर्यटकहरुको सख्या पनि बृद्धिहुँदै गएको छ ।