१८ बैशाख २०८३, शुक्रबार
गुल्मीमा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन १५ बुदे प्रतिबद्धता
गुल्मी, ४ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका सन्दर्भमा आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहेको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न १५ बुँदे महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकमा निर्वाचन कार्यक्रम, उम्मेदवार मनोनयन प्रक्रिया, निर्वाचन आचारसंहिता, सुरक्षा व्यवस्थापन लगायत विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो । यही माघ ६ गते हुन गईरहेको उम्मेदवार मनोनयनका लागि गुल्मीका दुई निर्वाचन क्षेत्रमा दलहरूले निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी फरक–फरक समय लिएर दर्ता गर्ने व्यवस्था मिलाउने सहमति गरिएको छ । मनोनयनको समयमा अनावश्यक भीड जम्मा नगर्ने र सीमित प्रतिनिधि मात्र उपस्थित गराउने निर्णय समेत गरिएको छ ।
बैठकले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आचारसंहिता उल्लङ्घन भए प्रचलित कानुन बमोजिम कारबाहीमा सहजीकरण गर्ने सहमति पनि भएको छ । प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्दा कम्तीमा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी गराउने, आमसभा, जुलुस, कोणसभा सञ्चालन गर्दा पूर्व स्वीकृति लिने र एकै स्थान तथा समयमा कार्यक्रम नजुधाउने निर्णय गरिएको छ ।
साथै सर्वदलीय बैठकमा निषेधित क्षेत्र र समयमा कार्यक्रम नगर्ने, सार्वजनिक आवागमनमा अवरोध नपु¥याउने, सरकारी सवारी साधन तथा सार्वजनिक सम्पत्तिको प्रयोग नगर्ने, सवारी साधन प्रयोग गर्दा अनुमति लिने, झण्डा तथा प्रचार सामग्री आचारसंहिता विपरीत प्रयोग नगर्ने सहमति भएको छ । सामाजिक सञ्जाल प्रयोग गर्दा दुष्प्रचार, भ्रम, अपमान, चरित्र हत्या तथा सद्भाव बिगार्ने सामग्री प्रवाह नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
निर्वाचन अवधिमा मदिराजन्य पदार्थको प्रयोग निषेध गर्ने, विक्री–वितरणमा नियन्त्रण गर्ने तथा कुनै सुरक्षा चुनौती देखिए तत्काल प्रशासन र प्रहरीसँग समन्वय गर्ने निर्णय गरिएको छ । मतदान अघिल्लो ४८ घण्टालाई मौन अवधि मान्दै त्यस अवधिमा प्रचार–प्रसार, सभा तथा भेला नगर्ने समेत प्रतिबद्धता जनाइएको छ ।

