४ जेष्ठ २०८३, सोमबार
गल्फ न्युजमा गुल्मीका युवा रुद्र थापा ।संघर्षबाट सफल व्यवसायीसम्मको प्रेरणादायी यात्रा ।
गल्फ न्युजमा छाए गुल्मीका युवा रुद्र थापा
संघर्षबाट सफल व्यवसायीसम्मको प्रेरणादायी यात्रा
गुल्मी । संयुक्त अरब इमिरेट्स (यूएई) मा संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलताको उचाइ चुम्न सफल गुल्मीका युवा रुद्र थापाको प्रेरणादायी कथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम gulfnews.com� मा प्रकाशित भएको छ। यूएईको प्रतिष्ठित सञ्चारमाध्यमले थापाको संघर्षदेखि सफल व्यवसायीसम्मको यात्रालाई विशेष रूपमा प्रस्तुत गरेको हो।
गुल्मी जिल्लाबाट वैदेशिक यात्रामा निस्किएका थापा सन् २०१३ मा एक सांगीतिक कार्यक्रममा गायकका रूपमा यूएई पुगेका थिए। सुरुमा यूएईमै बस्ने योजना नभए पनि त्यहाँको सुरक्षित वातावरण, अवसर र विकासले प्रभावित बनाएपछि उनले आफ्नो भविष्य त्यहीँ निर्माण गर्ने निर्णय गरेका हुन्।
विदेशी भूमिमा सुरुवाती दिन भने उनका लागि सहज थिएनन्। उनले होटल क्षेत्रमा वेटरका रूपमा काम गरे भने त्यसपछि सेक्युरिटी गार्ड र मर्चेन्डाइजरका रूपमा समेत संघर्षपूर्ण यात्रा तय गरे। अनेक चुनौती र कठिनाइबीच पनि उनले आफ्नो सपना त्यागेनन्। निरन्तरको मेहनत, सकारात्मक सोच र आत्मविश्वासकै कारण उनी आज सफल व्यवसायीका रूपमा स्थापित हुन सफल भएका छन्।
वर्षौंको अनुभव र बचतपछि थापाले सन् २०२३ मा “Trusted Key Typing Centre” स्थापना गरेका थिए। हाल उक्त व्यवसाय दुबई र शारजाहमा सफलतापूर्वक सञ्चालन भइरहेको बताइएको छ। सुरुमा पूर्णकालीन जागिरसँगै व्यवसाय अघि बढाएका उनले पछि आफ्नो सम्पूर्ण समय व्यवसायमै केन्द्रित गरेका थिए।
व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय थापा हाल नेपाल एसोसिएसन यूएईका उपाध्यक्ष तथा गुल्मी वेलफेयर सोसाइटी यूएईका संरक्षकका रूपमा कार्यरत छन्। यूएईमा रहेका नेपालीहरूको कानुनी, सामाजिक तथा कल्याणकारी समस्यामा उनले निरन्तर सहयोग गर्दै आएका छन्।
गुल्मीबाट विदेशिएर अन्तर्राष्ट्रिय स्तरमा सफलताको उदाहरण बनेका थापाको कथा अहिले यूएईमा रहेका नेपाली समुदायका लागि मात्र नभई विदेशमा संघर्षरत हजारौं नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ। सामान्य कामबाट सुरुवात गरेर सम्मानित व्यवसायी र समाजसेवीसम्मको उनको यात्रा गुल्मीवासीका लागि समेत गर्वको विषय बनेको छ।
उनको सफलताको कथाले मेहनत, धैर्यता र लक्ष्यप्रतिको समर्पण भए विदेशमा पनि नेपाली युवाले उल्लेखनीय सफलता हासिल गर्न सक्छन् भन्ने सन्देश दिएको छ।
Gulf News मा प्रकाशित पूर्ण समाचार :
gulfnews.com�

