७ जेष्ठ २०८३, बिहीबार
गुल्मी दरबारका ४ हजार विद्यार्थीको मुटु परीक्षण सुरु
गुल्मी, जेठ ७ — गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूको निःशुल्क मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। गाउँपालिकाभित्र अध्ययनरत करिब ४ हजार विद्यार्थीहरूको मुटु जाँच गरिने लक्ष्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
एक विशेष कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष सरोज थापा ले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक चरणमै जानकारी लिन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडे को नेतृत्वमा आएको चिकित्सकहरूको टोलीले परीक्षण कार्य सुरु गरेको हो। पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विद्यालय–विद्यालय पुगेर विद्यार्थीहरूको मुटु परीक्षण गरिने जनाइएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको समन्वयमा रोटरी क्लब अफ चन्द्रागिरी, रोटरी क्लब अफ रेसुङ्गा तथा गुल्मी दरबार गाउँपालिका को आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीका सभापति ताराप्रसाद भुसाल का अनुसार परीक्षणका क्रममा जटिल प्रकृतिका मुटुरोगी विद्यार्थीहरू पहिचान भएमा प्रतिष्ठानको समन्वयमा आवश्यक उपचार प्रक्रिया अघि बढाइनेछ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वरप्रसाद पाण्डे को पनि सहभागिता रहेको थियो। साथै रोटरी क्लब अफ चन्द्रागिरी र रोटरी क्लब अफ रेसुङ्गाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
विद्यालय तहदेखि नै स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको यो अभियानले विद्यार्थीहरूको मुटु स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी संकलन गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

