१७ जेष्ठ २०८३, आईतवार
गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजद्वारा हाजिरजवाफ प्रतियोगिता सम्पन्न
गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजद्वारा हाजिरजवाफ प्रतियोगिता सम्पन्न
जनार्दन घिमिरे
गुल्मी, १७ जेठ । गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजको आयोजना तथा मिरा ट्रष्टको व्यवस्थापकीय सहयोगमा गुल्मीदरबार गाउँपालिका–७ ठूलोपोखरामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा इश्वरी माध्यमिक विद्यालय, चारपाला दरबार प्रथम, ठूलोपोखरा माध्यमिक विद्यालय द्वितीय, शारदा माध्यमिक विद्यालय, अमर अर्बाथोक तृतीय तथा गङ्गा आधारभूत विद्यालय, चिनियापोखरी सान्त्वना भएका छन् । प्रतियोगितामा सहभागी विद्यार्थीलाई मिरा ट्रष्टद्वारा झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो । सम्पर्क समाजले आठ जना विद्यार्थीलाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमका अवसरमा विभिन्न रोगबाट ग्रसित इन्द्रबहादुर टोमटा र ललिता शाहीलाई संस्थाको तर्फबाट जनही रु १० हजार १०० का दरले आर्थिक सहयोग प्रदान गरिएको थियो । सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रस्तुत गर्ने विद्यार्थीलाई समाजकी पूर्व अध्यक्ष तथा सगुन्स कलेक्सनकी सञ्चालक एवं समाजकी पुर्व अध्यक्ष उषा खत्रीले उपहार प्रदान गरेकी थिईन् ।
सम्पर्क समाजका अध्यक्ष हिराधर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले समाजले ग्रामिण क्षेत्रमा आई महत्वपूर्ण सहयोग गरेको भन्दै संस्थालाई पालिकाको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार, कार्यसमिति सदस्य, वडा संयोजक, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
समाजको तर्फबाट सह–सचिव सबिना टण्डनको स्वागत मन्तव्य र रमेश कार्की व्यवस्थापन संयोजक रहेको कार्यक्रमको सञ्चालन सचिव विकास टण्डनले गरेका थिए । हाजिरजवाफ प्रतियोगिताको सञ्चालन भने मिरा कोषका महासचिव रामचन्द्र पौडेलले गरेका थिए ।
समाजले शिक्षा, प्रतिभा र सामाजिक एकताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।

