रेसुङ्गाको नयाँ नीति तथा कार्यक्रममा एआईदेखि स्मार्ट सिटीसम्मको अवधारणा  

admin

२०८३ असार ९ गते, मंगलवार १२:३६ मा प्रकाशित

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३÷८४को नीति तथा कार्यक्रममा एआईदेखि स्मार्ट सिटीसम्मको अवधारणा समावेश गरिएको छ । १९ औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खिलध्वज पन्थीले नगरलाई प्रविधिमैत्री, समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य सहित विभिन्न योजना सार्वजनिक गरेका छन् ।

नगर प्रमुख पन्थीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, सामाजिक समावेशीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । विशेषगरी कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग, ई–गभर्नेन्सको विस्तार र स्मार्ट सिटी अवधारणालाई प्रमुख प्राथमिकता दिइएको छ ।

नगरपालिकाले एकीकृत डिजिटल सूचना व्यवस्थापन प्रणाली र अफिस अटोमेसन मार्फत सेवा प्रवाहलाई थप छिटो र पारदर्शी बनाउने जनाएको छ । राजश्व व्यवस्थापन, अभिलेख संरक्षण र तथ्याङ्क विश्लेषणमा समेत एआईको प्रयोग बढाइने नीति लिइएको छ ।

नागरिकलाई घरदैलोमै सेवा पु¥याउन नियमित घुम्ती शिविर सञ्चालन गरिने तथा नगरक्षेत्रको पुनः नापीलाई प्राथमिकता दिइने भएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई समेत व्यवस्थित बनाइने नगरपालिकाले जनाएको छ ।

रोजगार सिर्जना र बसाइँसराइ रोक्न रोजगार प्रोफाइल तयार गरिने तथा “रेसुङ्गामा घर, विकासमा भर” अभियान सञ्चालन गरिने भएको छ । स्थायी बसोबास गर्ने परिवारलाई विभिन्न सेवामा सहुलियत दिने व्यवस्था समेत गरिने बताइएको छ ।

शिक्षा क्षेत्रमा एसईई परीक्षामा चार दशमलव शून्य जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँको नगरप्रमुख शैक्षिक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । सामुदायिक विद्यालयमै कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई थप ५० हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइनेछ ।

यस्तै साहित्य, भाषा र कला संरक्षणका लागि नगर प्रज्ञा परिषद् गठन गरिने तथा सामाजिक समावेशीकरण, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासका कार्यक्रमलाई पनि निरन्तरता दिइने उल्लेख गरिएको छ ।