१३ भाद्र २०८३, शनिबार
जापानमा उदाउँदै ‘ब्लु ब्वाइज युनियन’
ओसाका, जापान।
जापानमा नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा ओसाकालाई केन्द्र बनाएर क्रियाशील ‘ब्लु ब्वाइज युनियन’ (BBU) ले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सशक्त पहिचान बनाएको छ।
क्रान्तिका लागि एकता’ भन्ने मूल नाराका साथ सन् २०२४ अगस्ट २४ मा स्थापना भएको उक्त संस्थाले प्रवासमा रहेका नेपाली युवाहरूलाई गोलबद्ध गर्दै बहुआयमिक सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।
सुरक्षित, अनुशासित र सही मार्गमा अघि बढ्ने सन्देश दिने ‘जेब्रा क्रसिङको निलो संकेत’बाट नामकरण गरिएको यस संस्थाले स्थापनाकालदेखि नै ओसाकास्थित चुरुमी र्योउकुचि पार्कको नेपाली मन्दिर सरसफाइ, रक्तदान तथा विद्यार्थी र कामदारहरू (SSW, Working) का लागि शैक्षिक परामर्श लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
संस्थाले बिदेशमा नेपाली भाषा, संस्कृति र मौलिकता जोगाउन क्रियाशील संस्थाले चाडपर्वहरू मनाउनुका साथै बालबालिका लक्षित भाषा-संस्कृति कक्षा र ‘पुस्तक पढौँ’ अभियान अघि सारेको छ। आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या र विपदमा परेकाहरूलाई आर्थिक सहयोग गर्दै आएको संस्थाले दुई वर्षको अवधिमा जापान र नेपालमा गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक राहत समेत उपलब्ध गराइसकेको छ।
संस्थाको हालै सम्पन्न प्रथम महाधिवेशनबाट मोहन कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन भएको छ। निवर्तमान अध्यक्ष बासुदेव लामिछानेको कार्यकालको उपलब्धिलाई आधार मान्दै नवनिर्वाचित अध्यक्ष कुँवरले टिमवर्क, पारदर्शिता, आपत्कालीन सहयोग कोषको सुदृढीकरण र जापानी संघ-संस्थासँगको सहकार्यमार्फत सामाजिक अभियानलाई भविष्यमा नेपालसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनु भएको छ।


