११ आश्विन २०८३, आईतवार
वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित,यातायात पूर्णरूपमा बन्द
गुल्मी, १० असोज । लगातारको भारी वर्षाका कारण जिल्लाका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशसन कार्यालय गुल्मीले जिल्लामा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज सूचना जारी गर्दै रुरुक्षेत्र गाउँपालिका–१ सालबिसौनामा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक अवरुद्ध भएको जनाएको छ । त्यस्तै रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्नेभिरमा पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रशासनले जनाएको छ ।
कालीगण्डकी नदीको सतह बढेसँगै उच्च जोखिम बनेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जोखिम नक्साङ्कनमा समेत गुल्मी उच्च जोखिममा रहेको सूचनामा उल्लेख छ । गृह मन्त्रालयको निर्देशनका आधारमा जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासकीय अधिकृत कमल सेन ओलीद्वारा जारी सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासनका अनुसार मौषममा सुधार नहुँदासम्म जिल्लाभर सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ । यसैबीच जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी तटीय क्षेत्रका बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा आवश्यक पूर्वसावधानी अपनाउन समेत आग्रह गरेको छ ।
लगातारको वर्षाले गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव उच्चरुपमा बढेको छ । पानीको बहान बढेपछि रुरुक्षेत्र गाउँपालिका–१ स्थित रिडि बजार स्थित टटीय क्षेत्रका बासिन्दाहरु उच्च जोखिममा परेका छन् । कालीगण्डकी नदीले कटान र डुबानको जोखिम बढाएपछि नदी टटीय स्थानमा पसल गरी बस्दै आएका सात घरधुरी परिवारलाई स्थानीय र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।
वर्षाका कारण जिल्लाका मुख्य सडकदेखि ग्रामिण सडकहरु समेत पूर्णरुपमा अवरुद्ध बनेको र पहिरोले विभिन्न पालिकाहरुमा व्यक्तिका घर तथा गोठ भत्किएपछि जिल्लाको जनजीवन समेत थप प्रभावित बनेको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी वल नगर प्रहरी तथा स्थानीयको सहयोगमा विस्थापित भएका परिवारहरुलाई सुरक्षित स्थानमा सार्नुका साथै सडकमा पल्टीएका रुखहरुलाई कटान गर्ने काम समेत गरिएको छ ।

