२ चैत्र २०८१, आईतवार
कविता : आँखैअघि मृत्युवरण

मेरैसामु तिमीले
किन मृत्युवरण गर्यौ ?
अब तिम्रै लागि,
किन्नु छ कात्रो
बनाउनु छ चिता
बस्नु छ कोरा
खानु छ निस्तो भात
सम्झनामा बगाउनुपर्ने भयो
आँशुको भेल
पुरा गर्नुपर्ने भयो वर्षदिनको श्राद्ध
तिमी जानु र आउनुले
तिमीप्रतिको प्रेमलाई फरक त पारेन
तर मेरै सामु मृत्युवरण नगरेको भए
म पवित्र हुन पाउँथे
तर तिमीले सारा सृष्टि घुमिसकेर
मेरै काखमा आएर अन्तिम सास फेरेउ
आजकल म धुमधुम्ती
यही बगरमा बसेर
यसै स्मृतिमा हराउँछु
आँखै समीप हुँदा कहिल्यै
मेरी नभएकी तिमीले किन सोच्यौ ?
ओझेल हुँदा यो अस्तु
मलाई पेवा छोडेर जान्छु !