१४ बैशाख २०८३, सोमबार
मालिका गाउँपालिकाबाट कर सेवा शुभारम्भ, स्थानीय स्तरमै सेवा उपलब्ध
गुल्मी — आन्तरिक राजस्व कार्यालय बुटवलको आयोजनामा गुल्मी जिल्लाको मालिका गाउँपालिकाबाट कर सम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। यससँगै कर सेवा सुचारु गर्ने पहिलो गाउँपालिकाको रूपमा मालिका गाउँपालिका स्थापित भएको छ।
नेपाल सरकारको मिति २०८२ कार्तिक १७ गतेको निर्णयअनुसार साविकका करदाता सेवा कार्यालयहरू खारेज गरी कर सम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने नीति लागू भएपछि मालिका गाउँपालिकाले उक्त सेवा सुरु गरेको हो। सोही नीतिअनुसार आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृतको टोलीले गाउँपालिकाबाट सेवा प्रारम्भ गराएको हो।
गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत चिरञ्जीवी बस्यालको उपस्थिति रहेको थियो।
सेवा शुभारम्भसँगै अब मालिका गाउँपालिकाबाट व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) तथा व्यवसायिक स्थायी लेखा नम्बर जारी गर्ने, करदाता विवरण सच्याउने लगायतका सेवा प्रदान गरिनेछ।
यस पहलले स्थानीय स्तरमै सेवा उपलब्ध गराएर करदाताको समय तथा खर्च घटाउने, प्रशासनिक संघीयताको अभ्यासलाई सुदृढ बनाउने र करको दायरा विस्तार गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमकै अवसरमा सेवा लिने पहिलो करदाताका रूपमा ‘सीता कृषि तथा पशु फर्म’का प्रोप्राइटर रोमबहादुर लम्साल रहेका छन्।
स्थानीय तहबाट कर सेवा सञ्चालनमा आएपछि सेवाग्राहीहरूलाई सहजता हुने अपेक्षा गरिएको छ।

