वर्षाका कारण गुल्मीका प्रमुख सडकहरु अवरुद्ध

admin

२०८० आश्विन १७ गते, बुधबार २१:०९ मा प्रकाशित

गुल्मी – निरन्तरकाे वर्षाका कारण पहिरो खसेपछि गुल्मीका चार वटा प्रमुख सडक अवरुद्ध भएका छन् ।

 

कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाको कालाखोलामा पहिरो गएपछि आज बुधवार दिउँसोदेखि यो सडक अवरुद्ध भएकाे हाे ।

 

यस्तै हिजाे मङ्गलवारदेखि अवरुद्ध भएकाे रिडी–अर्घाखाँची सडक अझै सञ्चालनमा आएको छैन । लगातार वर्षा भैरहेका कारण पहिराे पन्छाउन समस्या भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । याे सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको साखर भन्ने ठाउँमा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएकाे हाे ।

 

यस्तै तम्घास–इन्द्रगौँडा सडक पनि अवरुद्ध भएकाे छ । याे सडक खण्डअन्तर्गत मुसिकोट नगरपालिका–४ दोभानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएकाे गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाअन्तर्गत गौँडाकोट–बलीथुम–जुभुङ सडक पनि अवरुद्ध भएकाे छ ।

 

पहिराेका कारण गए रातिदेखि अवरुद्ध भएकाे रिडी–रुद्रवेणी–वामीटक्सार सडक भने सञ्चालनमा आएको छ । याे सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–५ बाँदरे भीरमा गएको पहिरो हटाएपछि आज दिउँसाेदेखि सडक सञ्चालनमा आएकाे हाे ।

 

तीन दिनदेखिको लगातारकाे वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्लाका धेरैजसाे सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएकाे छ ।