गुल्मीबाट ४० करोड बढीको कृषि उपज निर्यात

सुमन महतरा

२०८० आश्विन २३ गते, मंगलवार ०७:०४ मा प्रकाशित

गुल्मीबाट आर्थिक वर्ष २०७९/०८० मा ४० कराेड ३१ लाख ४१ हजार रुपैयाँकाे कृषि उपज अन्य जिल्लामा निर्यात भएको छ । गुल्मीबाट निर्यात हुनेमा सबैभन्दा बढी तरकारी रहेको छ । तरकारी ११ हजार ७ सय मेट्रिक टन निर्यात भएको हाे । जसको मूल्य १९ कराेड ९१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै दोस्रोमा सबैभन्दा बढी निर्यात हुनेमा सुन्तला रहेको छ । सुन्तला ६ हजार ९ सय ३८ मेट्रिक टन निर्यात भएको हाे । जसको मूल्य १३ कराेड २१ लाख ४१ हजार रुपैयाँ रहेको छ । गुल्मीको नयाँगाउँ, भाडागाउँ, श्रङ्गा, लुम्छालगायतका ठाउँ सुन्तलाका लागि प्रसिद्ध मानिन्छ ।

तेस्रोमा सबैभन्दा बढी उखु निर्यात भएको छ । गुल्मीकाे रुरुक्षेत्र गाउँपालिका र छत्रकाेट गाउँपालिकामा उखु अत्यधिक मात्रामा उत्पादन हुने गर्छ । त्यहाँका कृषकले उखु पेलेर खुदाे, गुडलगायतका सामग्री बनाएर बेच्ने गर्छन् । थाेर्गाकाे खुदाे विदेशमासमेत अत्यन्तै परिचित छ । जिल्लाबाट आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ८ सय ९ मेट्रिक टन उखु र उखुबाट बनेको परिकार निर्यात भएको छ । जसकाे मूल्य एक कराेड ९० लाख रुपैयाँ रहेको छ ।

यस्तै गुल्मीबाट गत आर्थिक वर्षमा एक कराेड ७५ लाख रुपैयाँको आलु निर्यात भएको छ । गुल्मीकाे अर्खाबाङ क्षेत्रमा अत्यधिक मात्रामा आलु फल्ने गर्छ । त्यस्तै जिल्लाबाट क कराेड ४३ लाख रुपैयाँको विभिन्न रैथाने बालीहरु पनि निर्यात भएको छ ।

कफीकाे प्रसिद्ध जिल्ला भनेर चिनिने गुल्मीबाट याे वर्ष ९६ लाख रुपैयाँकाे कफी निर्यात भएको छ । गुल्मीकाे आँपचाैर, इन्द्रेगाैडा, भुवाचिदी, चन्द्रकाेटकाे तल्लाफाटा, रुपाकाेट मदानेकाे सिर्सेनि, रुरुकाे बलेटक्सार, कालिगण्डकीलगायतका क्षेत्रमा कफी बढी मात्रामा उत्पादन हुने गर्छ ।

त्यस्तै जिल्लाबाट ६३ लाख रुपैयाँकाे लिची निर्यात भएको छ । जिल्लाकाे सत्यवति, रुरु,छत्रकाेट र मुसिकाेट क्षेत्रमा अत्यधिक मात्रामा लिची उत्पादन हुने गरेको छ । गत आर्थिक वर्षमा ३९ लाख रुपैयाँको मसिनाे चामल र २९ लाख रुपैयाँको मह गरी ४० कराेड ३१ लाख ४१ हजार रुपैयाँकाे कृषि उपज बाहिरी जिल्लाहरुमा निर्यात भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

भण्डारीले सबै स्थानीय तहले तरकारी, उखु, लिचीलगायतका कृषि उपज उत्पादनका लागि हाइटेक टनेल निर्माण गरिदिनुपर्ने, तरकारी, सुन्तला, कागतीका लागि चक्लाबन्दी गरेर सहयोग गर्नुपर्ने बताएका छन् । उनले जिल्लाबाट उल्लेखित तथ्यांकमा भन्दा धेरै कृषि उपज निर्यात गएको बताए ।