गुल्मीमा व्यवसायीक रुपमै फूल खेती गरेका प्रेमलाई बिक्री गर्ने चिन्ता  

अनिल खत्री

२०८० कार्तिक २० गते, सोमबार २१:०१ मा प्रकाशित

 

२० कात्तिक, गुल्मी । गुल्मी जिल्लामा व्यवसायीक रुपमा फूल खेती नहुँदा तिहार लगायत ठूला मेला महोत्सवमा फूलका निम्ती बुटवल लगायत अनेत्र शहरको भर पर्नुपर्ने अवस्था रहेको थियो । तर यसवर्षदेखि जिल्लामै फूल खेती गर्न केहि युवाहरु लागि परेका छन् ।

गुल्मी जिल्लाका ग्रामीण वस्तीमा व्यवसायीक फूल खेती सुरु हुन थालेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ६ मा प्रेम नेपालीले फूल खेती गर्दै आउनु भएको छ ।

नेपालीले रेसुङ्गा नगरपालिका वडानम्बर ६ र धुर्कोट गाउँपालिकाको वडानम्बर ४ का दुई स्थानमा फूल खेती गर्दै आउनु भएको छ । गतवर्ष सामान्य रुपमा फूल खेती गरेका नेपालीले यसवर्ष फूल खेतीको व्यवसायलाई बिस्तार गर्नुभएको छ ।

पछिल्लो समय कृषिलाई आफ्नो व्यावसाय बनाएर लागेका नेपालीले तरकारी खेतीसँगै फूल खेती गर्दै आउनु भएको हो । नेपालीले आर एन पि नवोदय बहुउद्देश्यीय कृषि फर्म दता गरेर रेसुङ्गा र धुर्कोटमा १ सय २० रोपनी जग्गा भाडामा लिएर बिगत ९ वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ ।

तिहार पर्वलाई मध्यनजर राखेर २ वर्षदेखि सामान्य रुपमा फूल खेती गरेका नेपालीले यसवर्ष ४ रोपनी क्षेत्रफलमा बिस्तार गर्नुभएको छ । नेपालीको फर्ममा यतिबेला तिहार पर्वलाई लक्षित गरेर फूलहरु फूलिरहेका छन् ।

तर उत्पादीत फूलहरु कहाँ बेच्ने भन्ने समस्या पनि उत्तिकै रहेको छ । उहाँले मुख्य गरेर धुर्कोट गाउँपालिका र तम्घास बजारलाई लक्षित गरेर फूल उत्पादन गर्नुभएको छ । तर माग भए तम्घास बाहिर बुटवलमा पनि पठाउने नेपालीको भनाइ छ ।

तिहार पर्वमा व्यवपारीहरुले कृत्रिम फूलका माला ल्याएर बिक्री गर्दा यहाँका फूलहरु बिक्री गर्न समस्या रहेको नेपाली बताउँछन् । कतिपयले यी फूलहरुलाई महत्व नदिने गरेको पाइन्छ ।

नेपालीको फर्ममा यतिबेला लकत्ते टेनिस, पहेलो र सुन्तला कलरको फूल उत्पादन भइरहेको छ । आगामी वर्ष नेपाली फूलहरु गोदावरी, मखमली लगायत विभिन्न जातका फूलहरुसँगै क्षेत्रफल पनि बिस्तार गर्ने योजना नेपालीको रहेको छ ।

थोरै उत्पादन गर्दा बिक्री हुँने गरेपनि धेरै उत्पादन भएकाले यसवर्ष फूला बिक्री गर्न समस्या रहेको उहाँको भनाइ छ । यसवर्ष करिब २ लाखको फूल उत्पादन भएको नेपालीको अनुमान रहेको छ ।

मालाको हिसाबले ३५ वटा फूलको एउटा माला तयार हुने गर्दछ । उहाँले यसको फूटकर मूलयमा प्रति माला २ सयमा बिक्री गर्ने गर्नु भएको छ ।

सबै फूल होलसेल मूल्यमा किन्ने आए बिक्री गर्ने नेपालीको भनाइ छ । तिहार पर्वलाई लक्षित गरेर असारमा फूल रोपीन्छ ।

फूल खेती गर्न अरु खेतीमा जस्तो मेहन गर्नु पर्दैन । कृत्रिम माला विस्थापित गर्नका लागि फूल खेती गरेका नेपालीलाई कुनै पनि निकायले सहयोग गरेको छैन् ।

जिल्लाका केहि स्थानयि तहले मेला पर्वमा कृत्रिम फूलका मालाहरु निषेध गरेका छन् । गाउँमा फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रीत हुनु परेको थियो ।

तर यसवर्ष जिल्लामै व्यवसायीक फूल खेती गर्नुले कृत्रिम फूल मालामा भर पर्नुपर्ने अवस्था छैन् । तिहारको पाँचौ भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ ।

त्यसैका लागि फूल आवश्यक पर्दछ । पछिल्लो समय जिल्लामा फूल खेतीगर्न ठूला व्यवसायीहरु बन्न थालेका छन् ।

जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर ३ मा गोकर्ण नेपालीले पनि ६हजार बोट फूल लगाए फूल खेती गर्दैै आएका छन् । उनको व्यवसायलाई भने इस्मा गाउँपालिकाले सहयोग गरेको छ ।