३ चैत्र २०८१, सोमबार
जनताले रोजेको शक्तिले शासन गर्न पाएन भने लोकतन्त्र कमजोर हुन्छ ः महासचिव पोखरेल

अनिल खत्री
२५ पुस, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न पाएन भने लोकतन्त्र कमजोर हुने बताएका छन् । नेकपा एमाले गुल्मीले आयोजना गरेको तीन दिने प्रशिक्षणलाई उद्धाटन गर्दै महासचिव पोखरेलले जनताले रोजेको पहिलो पार्टी प्रदेश र केन्द्र दुवै सरकारबाट बाहिर रहँदा लोकतन्त्र कमजोर रहेको बताएका हुन् ।
वर्तमान समयमा लोकतन्त्र किन कमजोर भएको भन्ने प्रश्न चारैतिर सुनिएको भन्दै महासचिव पोखरेलले एमाले सरकार बाहिर हुँदा यस्तो परिस्थिती सिर्जना भएको बताएका हुन् । ‘एमाले जनताले रोजेको पहिलो पार्टी हो, शासन गर्न दिएको शक्ति सत्ता बाहिर छ’ उनले भने, ‘यसरी जनता निराश हुन्छन् त्यसपछि सोझै लोकतन्त्र कमजोर हुन्छ ।’
अहिले आमा जनतामा निराशा छाएको उनले प्रतिक्रिया दिए । वर्तमान सत्ता गठबन्धन जनादेशबाट निर्वाचनमै असफल भएको र अहिले कर्मबाट पनि असफल भएको महासचिव पोखरेलले बताए ।
उनले वर्तमान सरकारले एक हजार जनमानसको पनि भीड नियन्त्रण गर्न नसकेर जनतालाई गोली ठोकेको आरोप पनि लगाए । देशको भविष्यसँग जोडिएको गुल्मीमा निर्वाचनमा एमालेले केही क्षति बेहोरेमा यसमा नेताहरु थप खटिएर लाग्नुपर्ने बताए ।
उनले निर्वाचनकै मात्र चिन्ता गर्नु भन्दा देश र जनताको चिन्ता गरेर अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गरे । महासचिव पोखरेल बन्द प्रशिक्षणमा पनि सहभागी हुनेछन् ।
प्रशिक्षण २७ गतेसम्म तीन दिन चल्नेछ । महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहितमा नेताहरु बुधबार बिहान गुल्मीको कार्यक्रममा सहभागी हुन आएका थिए ।
तीन दिने प्रशिक्षणमा जनताको बहुदलीय जनवाद र दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा र कार्यभार महासचिव शंकर पोखरेलले दिने भएका छन् । त्यस्तै मार्क्सवादी विश्व दृष्टिकोण र समाज रुपान्तरण उपमहासचिव प्रदीप ज्ञवाली, पार्टीको प्रचार कार्य, सूचना प्रविधी र राजनीतिक संचार पोलिटब्यूरो सदस्य सूर्य थापाले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले गुल्मी जिल्ला कमिटी सचिव गणेश श्रीपालीले बताए ।
त्यस्तै पार्टीको संगठन निर्माण, संचालन र व्यवस्थापन केन्द्रीय सदस्य रचना खड्का, कम्युनिष्ट शैली, पद्धती र अनुशासनको महत्व केन्द्रीय सदस्य दिनेश पन्थी, गुल्मी जिल्लाको विकासमा पार्टीको भूमिका केन्द्रीय सल्लाहकार कमल श्रेष्ठ, गुल्मीको कम्युनिष्ट आन्दोलन जिल्ला अध्यक्ष वालसिङ काउछाले प्रशिक्षण दिने एमाले गुल्मीले जनाएको छ ।