यस वर्षको ‘जानकी साहित्यिक पुरस्कार’ ठाकुर शर्मा भण्डारीलाई

admin

२०८१ बैशाख ५ गते, बुधबार २०:२९ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, वैशाख ६ । यस वर्षको जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार गुल्मीमा जन्मेर निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार यस वर्ष भण्डारीलाई प्रदान गर्ने पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले जानकारी दिनु भयो ।

जानकी प्रतिष्ठान मार्फत मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासको आयोजनामा नगद र सम्मान पत्र सहित प्रत्यक वष एक जना साहित्यकारलाई पुरस्कृत गर्ने गरिन्छ । भण्डारीका सिर्जनाहरू सरल, सरस र यथार्थतिर उन्मुख रहेको साहित्यकार दीन पन्थीले बताउनु भएको छ ।

गुल्मीको सत्यबती गाउँपालिकाको जोहाङ् खैरेनीमा बिक्रम संम्बत २०१० भाद्र २५ गते जन्मनु भएका भण्डारी समालोचक, कवि र निबन्धकारको रुपमा परिचित हुनुहुन्छ । यिनै विधामा उहाँले २८ वटा पुस्तकहरु समेत प्रकाशित गरिसक्नु भएको छ । सानैदेखि साहित्य साधनामा सक्रिय रहँदै आउनु भएका भण्डारीले आफ्नो जीवनको उर्वर समय साहित्यिक साधनामा खर्चिनु भएको छ ।

२०३३ सालमा रुरुक्षेत्र गाउँपालिका ४ अन्तर्गत बलेटक्सारमा जन्मनु भएकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा काम गर्दै गर्दा गत नौ वर्ष अघि ३९ वर्षको उमेरमा असामयीक निधन भएको थियो । ज्ञवालीको निधनपछि उहाँका श्रीमान शंकरप्रसाद गौतमको अग्रसरतामा उहाँको स्मृतिमा किरण पुस्तकालय तम्घासमा एक लाख ५१ हजार एक सय ५१ रुपैयाँको अक्षय कोष स्थापना गरिदिनु भएको थियो ।

त्यही अक्षय कोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा किरण पुस्तकालय मार्फत पुरस्कार प्रदान गर्ने प्रचलन छ । ‘जानकी साहित्यिक पुरस्कार’ बाट यसअघि साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम र रुद्र ज्ञवाली पुरस्कृत भैसक्नु भएको छ ।