२४ आश्विन २०८१, बिहीबार
छत्रकोटमा उखु महोत्सव गरियो
जनार्दन घिमिरे
गुल्मी ७ वैशाख : गुल्मीको छत्रकाेट गाउँपालिकामा उखु महाेत्सव गरिएको छ । गाउँपालिकाकाे वडा नम्बर ४ दिगाममा पहिलो पटक शुक्रबार उखु महाेत्सव गरिएको हो ।
गाउँपालिकाकाे आयोजनामा उखु किसानलाई प्रवर्द्धन गर्नका लागि एकदिने उखु महाेत्सव गरिएको हो । प्रभातफेरीसँगै सुरु भएको उखु महाेत्सवमा उखु पेल्ने, खुदाे र गुँड तथा उखुजन्य पदार्थलाई प्रदर्शन गरिएको थियो ।
उखु सम्बन्धी विभिन्न साँस्कृतिक प्रस्तुतिहरु कार्यक्रममा देखाइएको थियो । महाेत्सवमा सेताे काेसेर उखु, राताे काेसेर उखु, ओखडी काेसेर उखु, जीतपुर काेसेर उखु र पुरानो जातको उखु लगायत प्रदर्शन गरिएको थियो ।
उखु महाेत्सवलाई सम्बाेधन गर्दै जिल्ला समन्वय समिति प्रमुख द्राेणबहादुर खत्रीले छत्रकाेट गाउँपालिका कृषि क्षेत्रमा नयाँ नाैलाे कार्यक्रम गर्ने पालिका रहेको बताउनु भयो। उहाले छत्रकाेटले सुन्तला र उखुबाट समुन्नति हासिल गर्न सक्ने बताउनु भयो।
कार्यक्रममा गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उखु प्रवर्धन र विकाससॅगै किसानलाई अझ बढी व्यावसायिक बनाउन लागि उखु महोत्सव आयोजना गरिएको बताउनु भयो।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, प्रमुख प्रसासकिय अधिकृत विरबहादुर पुन लगायतका व्यक्तिहरूले महोत्सवले उखु किसानलाई थप हौसला बढाएको बताउनु भएको थियो ।
छत्रकाेटमा तीन सय किसान व्यावसायिक उखु खेतीमा लागेका छन् ।