६ माघ २०८१, आईतवार
गुल्मीमा बाख्रापालक कृषकलाई उन्नत प्रबिधियुक्त तालिम
गुल्मीमा बाख्रापालक कृषकलाई उन्नत प्रबिधियुक्त तालिम
जनार्दन घिमिरे
गुल्मी, वैशाख २५ । गुल्मीमा व्यवसायीक रुपमा बाख्रा पालन गर्ने कृषकहरुलाई उन्नत प्रबिधियुक्त बाख्रा पालन तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ गुल्मीले जिल्लामा परम्परागत बाख्रा पालनमा सुधार ल्याउने उद्देश्यले बाख्रा पालक कृषकहरुको दक्षता अभिवृद्धिका लागि उक्त तालिम प्रदान गरिएको हो ।
तालिममा समूह सहकारी संस्थाहरुबाट व्यावसायीक रुपमा बाख्रा पालनमा आबद्ध कृषकहरुलाई कम लागतमा बाख्रा पालनगरि उत्पादन र उत्पादकत्वमा कसरी वृद्धि गर्ने भन्ने विषयमा जानकारी गराईएको थियो । सदरमुकाम तम्घासमा सञ्चालन गरिएको जिल्ला स्तरीय उन्नत प्रबिधियुक्त पशुपालन तालिममा नस्ल सुधार, खोर निर्माण, बजारीकरण, रोगका लक्षणहरु, खोप, बिमा, नीतिगत कुरा र नियमन लगायतका विषयमा कृषकहरुलाई जानकारी गराईएको थियो ।
कृषि विकास रणनीति अन्र्तगत दिगो विकासको लक्ष्य पुरा गर्ने उद्देश्यले जिल्लामा उक्त कार्यक्रम सञ्चालन प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले बताउनु भयो । तालिम समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले पराम्परागत पद्दतिबाट गरिएको बाख्रापालन भन्दा उन्नत प्रबिधियुक्त विधिबाट गरिएको बाख्रा पालनले कृषकहरुको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाँले कृषकहरुलाई कुरामा भन्दा काममा बढी बिस्वास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेय, परियोजनाकी प्रमुख गंगाकुमारी पोख्रेल र पशु सेवा विज्ञ केन्द्रकी पशु चिकित्सक डा.नबिना ढकालले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै बाख्रा पालक कृषकहरु बिष्णु घिमिरे र निमकला अर्यालले तालिमले आफुहरुलाई धेरै कुरा सिकाउनुका साथै थप उत्साह समेत बढाएको बताउनु भएको थियो । तालिममा जिल्लामा बाख्रा जोन कार्यक्रम लागु गरिएका मालिका, मदाने, इस्मा र मुसिकोट गरि चार पालिकाकाहरुबाट १४ देखि एक सय दश वटा सम्म बाख्रा पालन गर्ने कृषकहरुको सहभागिता रहेको थियो ।