२३ भाद्र २०८१, आईतवार
रुरुक्षेत्र गाउपालिकाद्वारा तिज गीत प्रतियोगिता
गुल्मी, १८ भदौ । नेपाली नारीहरुको महाव पर्व हरितालिका तिज पर्वको अवशरमा रुरुक्षेत्र गाउँपालिकाद्वारा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरिएको छ । परम्परागत संस्कृतिको जर्गेना गर्दै महिला दिदीबहिनीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पालिकाको आयोजनामा उक्त खुल्ला तिज गीत प्रतियोगिता सञ्चालन गरिएको हो ।
रुरुक्षेत्र गाउँपालिका ४ अन्र्तगत नाच्ने डाँडामा आयोजना गरिएको प्रतियोगितामा श्रीदेवी महिला समुह प्रथम, समाजसेवी महिला समुह दोश्रो र भड्कुवा भ्यूप्वाईन्ट समुहले तेश्रो सथान हासिल गर्न सफल भएका थिए । चौध वटा समूहहरुको प्रस्तुती रहेको उक्त प्रतियोगितामा मिनामकोट आमा समुहकी कलाकार अमृता सारुलाई उत्कृष्ट नृत्यमा पुरस्कृत गरिएको थियो ।
प्रतियोगिातमा प्रस्तुत गरिएका समसामयीक विषय वस्तु र त्यसमा आधारित रहेर प्रस्तुत भिन्न भिन्न अभिनयहरुले दर्शकहरुलाई भावुकसँगै रमाईलो बनाएको थियो । प्रतियोगितामा विभिन्न समुहहरुद्वारा प्रस्तुत अधिकाँस गीतहरुमा महिला हिंसा, महिला अधिकार, उद्यम, स्थानीय कला, संस्कृति, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनका साथै गाउँमा किसानले भोग्नु परेका बादर, बनेल जस्ता बन्यजन्तुवाट भोग्नु परेका पीडाका कुराहरुसँगै पालिकाले गरेका उत्कृष्ट कामहरुलाई समेत गीत मार्फत प्रस्तुत गरिएको थियो ।
रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पछिल्लो समयमा हाम्रो कला र संस्कृति लोपहुँदै जान थालेको भन्दै त्यसलाई जीवन्त राख्न यस्ता प्रकारका कार्यक्रमहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको थियो ।
प्रतियोगितामा प्रथम हुने समुहलाई पन्ध्र हजार, दोश्रो हुनेलाई दश हजार र तेश्रो हुन समुहलाई पाँच हजार रुपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनु भएको छ । उक्त प्रतियोगितामा पत्रकार महासंघका पुर्व अध्यक्ष एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका सल्लाहकार जनार्दन घिमिरे, सह सचिव अनिल खत्री एवं श्री जोहाङ् रन्जित प्रसाद लालचन रुद्रावती मा.बि. कि शिक्षिका बिष्णु ज्ञवालीले मूल्याङ्कनमा सहजिकरण गर्नु भएको कार्यक्रम सञ्चालक दिपा गैरेले जानकारी दिनुभएको छ ।