२४ मंसिर २०८१, सोमबार
गुल्मीमा उत्कृष्ट १५ जना करदाताहरुलाई सम्मान
गुल्मी, ७ मङ्सिर । राष्ट्रिय कर दिवस सप्ताहको अवशरमा गुल्मीमा उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको छ । १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह –२०८१ को अवशरमा १५ जना करदाताहरु सम्मानित हुनुभएको हो । उहाँहरुलाई लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले शुक्रबार सदरमुकाम तम्घासमा एक कार्यक्रम बीच सम्मान गर्नु भएको थियो ।
करदाता सेवा कार्यालय गुल्मीले जिल्लामा रहेका सम्पुर्ण व्यवसाय मध्य सबैभन्दा बढी आय कर तिर्ने करदाता अर्जुन बिल्डर्सका एण्ड कन्स्ट्रक्सन प्रालीका सञ्चालक लक्ष्मी खनाललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको थियो । उहाँले आर्थिक वर्ष २०७९÷०८० मा २५ लाख ३६ हजार ३१७ रुपैंया बराबरको कर तिर्नु भएको थियो ।
यसरी सम्मानित हुनेहरुमा राम प्रसाद पन्थी, शेर बहादुर थापा, विजय खनाल, चोक बहादुर कुँवर, रिसीराम पाण्डे, बिर बहादुर थापा, जमुना न्यौपाने, चन्द्र प्रसाद श्रेष्ठ, राजु कार्की, डा. सुदर्शन थापा, हरि बहादुर खत्री, नरेन्द्र बिक्रम जिसी, आशा थापा, मनिराम थापा एवं विमल अर्याल रहनु भएको थियो ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवशरमा कार्यालयले ‘कर प्रणालीको सार, लगानीको आधार’ विषयमा जिल्ला स्तरीय खुला वक्तिृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो । प्रतियोगितामा आकृति अर्याल प्रथम, सुजाता कुँवर द्वितीय, करिना टण्डन तृतीय र रितीका गौतम सान्त्वना बनेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले पल्छिल्लो समयमा नागरिकहरुमा कर तिर्ने बानीको विकास भएको भन्दै यसबाट देशको आर्थिक मेरुडण्डको मुख्य आधार निर्माणहुने बताउनु भयो । उहाँले सरकारको ढुकुटीमा प्रयाप्त बजेट नहुँदा व्यवसायीहरुले पनि काम गरेको रकम समयमा भुक्तानि पाउन नसकेको बताउनु भयो । त्यसका लागि सरकारले चाँडै नै त्यस्ता प्रकारका समस्या समाधान गर्ने प्रक्रियामा रहेको जानकारी गराउनु भएको थियो । उहाँले सबै नागरिकहरुमा कर कहरले हैन, रहले तिर्ने बातावरण बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा व्यवसायीहरुले आर्थिक मन्दीका कारण व्यवसायहरु सञ्चालनमा समस्या भएको, समयमा काम सम्पन्न गरे पनि सरकारले समयमा रकम भुक्तानी गर्न नसकेका कारण व्यावसायीहरु थप समस्यामा पर्दै भएको गुनासो व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उप प्रमुख, विभिन्न संघ संस्था, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं व्यावसायीहरुको सहभागिता रहेको थियो । कर अधिकृत विक्रम पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तारा भुसालले गर्नु भएको थियो। करदाता सेवा कार्यालयले स्थानीय तहमा तहगत रुपमा पहिलो पटक यसरी ठूला करदातालाई सम्मान गरेको हो ।