सत्यवतीमा पहिलो बेत ब्याउने गाईलार्ई दश हजार रुपैंया अनुदान 

admin

२०८१ मंसिर १२ गते, बुधबार १८:२० मा प्रकाशित

गुल्मी, १२ मंसिर । गुल्मीको सत्यवती गाउँपालिकामा गाईपालन गर्ने कृषकलाई प्रोत्साहन गर्न लागेको छ । पालिकाले गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईको लागि प्रति गाई दश हजार रुपैंया अनुदान उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाले गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवद्र्धधन गर्ने उदेश्यले कृषकहरुलाई प्रोत्साहन कार्यक्रम अन्तरगत उक्त योजना ल्याएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भएको छ । पालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८१÷०८२ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त प्रोत्सान कार्यक्रम अघि सारेको हो ।

कार्यक्रमबाट लाभ लिनको लागि पालिकाले गत साउन १ गतेदेखि ०८२ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा दश हजार रुपैंया अनुदान उपलब्ध गराउने जानकारी गराएको छ । उक्त रकम प्राप्त गर्नका लागि कृषकहरुले गत असोज ५ गतेसम्म आफुले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनु पर्ने बताईएको छ ।

अनुदान प्राप्त गर्नका लागि त्यसका कृषकले पालिकामा निवेदन सहित नागरिकताको प्रतिलिपि, पहिलो पटक व्याएको व्यहोरा उल्लेख गरिएको कम्तिमा तीन जना छिमेकीहरुको हस्ताक्षर सहितको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनु भयो । त्यसका अतिरिक्त निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरि दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभई अनिबार्य रुपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने बताईएको छ । पछिल्लो समयमा गाउँमा गाईपालन गर्ने परम्परा विस्तारै लोपोन्मुख अबस्थामा जान थालेसँगै सत्यबती गाउँपालिकाले गाईको संरक्षण गर्नका लागि उक्त अभियान सञ्चालन गर्न लागेको हो ।