८ जेष्ठ २०८२, बुधबार
गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा दोश्रो गुल्मी महोत्सव शुरु

गुल्मी, ५ वैशाख । गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि दोस्रो गुल्मी महोत्सव शुरु भएको छ । गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा वैशाख ५ देखि १७ गतेसम्म दोस्रो कृषि, पर्यटन, ब्यापार एवम् औद्योगिक महोत्सव सञ्चालन गरिएकोे हो ।
आज शुक्रबारदेखि सदरमुकाम तम्घासमा स्थीत कारागार नजिकै रहेको नुनथलामा महोत्सव सञ्चालन भएकोे गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो । ‘गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र ब्यापार’ भन्ने नाराका साथ जिल्लामा कृषि, पर्यटन एवं व्यापार मेलाको आयोजना गरिएकोे अध्यक्ष पाण्डेले बताउनु भयो ।
महोत्सवको डेढ लाख दर्शकहरुले अवलोकन गर्ने र ३० करोड बराबराको आर्थिक कारोवारहुने अपेक्षा गरिएको छ । पछिल्लो समयमा जिल्लामा आर्थिक गतिविधि न्यून हुँदै गईरहेको अबस्थामा बजार चलायमान बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको गुल्मी चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले बताउनु भयो ।
महोत्सवको पुर्व सन्ध्यामा शुक्रबार बिहान तम्घास बजार क्षेत्रमा विभिन्न झाँकीहरु सहित शोभायात्रा निकालिएको थियो । दुइ सातासम्म सञ्चालनहुने महोत्सवमा स्थानीय कृषि उपजदेखि घरेलु उत्पादनका सामग्रिहरु स्थानीय रैथाने खानाका परिकारहरु, जिल्लाका विभिन्न हस्तकलाका सामग्रिहरु प्रर्दशनीमा राखिएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको बताइइएको छ ।
महोत्सवमा तीन सय स्टलहरु राखिएको छ । आयोजकले कृषकहरुलाई प्रोत्साहन गर्न कृषि तथा घरेलु उत्पादनको लागि निशुल्क रुपमा स्टलहरुको व्यावस्थापन मिलाइको छ । संस्थाले कारागार नजिकै स्थानीहरुको दश रोपनी जग्गा भाडामा लिएर महोत्सव आयोजना गरेकोे हो ।
महोत्सवलाई प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गरि सबैलाई जिम्मेवारी प्रदान गरिएको छ । महोत्सवबाट जिल्लाको लोक साँस्कृति, स्थानीय परम्परा र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताईएको छ । महोत्सबको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भुसालले आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता प्रकारका मेला महोत्सवहरु समय समयमा आयोजना गर्नु पर्नेमा जोड दिनुभएको छ । महोत्सवमा स्थानीय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको छ ।