२५ श्रावण २०८३, सोमबार
गुल्मी अस्पताल निर्माणमा भएको ढिलाइप्रति मन्त्री लम्सालद्वारा असन्तुष्टि
गुल्मी, २४ साउन । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घास स्थित नवनिर्मित गुल्मी अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै सम्झौता अनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर भए पनि काम अघि बढाउन निर्देशन दिएका छन् ।
मन्त्री लम्सालले निर्माण व्यवसायी जोसुकै भए पनि समयमा काम सम्पन्न नगरेमा पटक पटक समय दिन नसकिने बताउँदै कामको अबस्था हेरेर प्रक्रिया अघि बढाउनु पर्ने बताएका हुन् । अनुगमनका क्रममा भवन निर्माण सम्बन्धी सम्झौता अनुसारका सम्पूर्ण काम गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।
लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको आइतबार स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भवन निर्माणको भौतिक प्रगति, गुणस्तर तथा हालसम्म भएका कामहरुका बारेमा जानकारी लिएका हुन् । गुल्मी अस्पताल भवन निर्माणको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत पुगेको बताइएको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको भवन निर्धारित समय भित्र निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप हुँदै आएको छ । २५ करोड ९४ लाख लागतमा स्वच्छन्द–बानियाँ जेभी, हेटौँडा, मकवानपुरले भवन निर्माणकोे जिम्मेवारी लिएको छ । पछिल्लो पटक उक्त भवन निर्माण सम्पन्न गर्नका लागि पाँचौ पटक म्याद थप गरिएको छ ।
नयाँ भवनमा सघन उपचार कक्ष (आईसीयू), सर्जिकल, मेडिकल तथा बाल उपचार कक्षका लागि छुट्टाछुट्टै व्यवस्था गरिने बताईएको छ । गुल्मी अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । यसैबीच मन्त्री लम्सालले अस्पतालमा ब्लड बैंक स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
मन्त्री लम्साल सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनपछि आइतबार गुल्मी आइपुगेका हुन् । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डे लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।


