गुल्मीको सत्यवती गाउँपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन 

admin

२०८२ जेष्ठ १ गते, बुधबार १७:४४ मा प्रकाशित

गुल्मी, ३१ वैशाख । गुल्मीको सत्यवती गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा सञ्चालन भएको छ । किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई निर्यात गर्न सहयोग पुराउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भएको छ ।

सत्यवती गाउँपालिका र संघिय सरकारको लागत साझेदारी अन्तरगत ३४ लाख ७० हजार मूल्यमा पालिकाद्वारा कृषि एम्बुलेन्स खरिद गरेको हो । पालिकामा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु समयमै बजारसम्म पुराउन नसक्दा किसानहरुले ठूलो समस्या भोग्दै आएका थिए । उक्त एम्बुलेन्स पालिकाले सहकारीलाई सञ्चालनका लागि जिम्मा दिएको छ । सहकारीले किसानहरुले उत्पादन गरेका तरकारी खरिद गर्ने बताईएको छ । यसरी खरिद गरी बिक्री गरेपछि किसानहरुको खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

कृषि एम्बुलेन्स सञ्चालन भएसँगै किसानहरुले उत्पादित सामग्रि सहजरुपमा बजारसम्म पुराउन सजिलो हुने भएको छ । यसले कृषकहरुलाई प्रोत्साहित गर्नुका साथै उत्पादनमा समेत थप बृद्धि हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताउनु भयो । उहाँले यसबाट सोझै कृषकबाट उपभोक्तासम्म पुग्ने र कृषकहरुले पनि उत्पादित बस्तुको उचित मूल्य पाउने भएको हुँदा किसानहरु पनि खुसि बनेको उपाध्यक्ष तरामुले बताउनु भयो ।

सत्यवती पालिकाले उत्पादनको आधारमा कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ । पालिकाले १० क्वीण्टलसम्म तरकारी उत्पादन गर्ने किसानलाई प्रति किलो दुई रुपैंया र १० क्वीण्टल भन्दा माथि उत्पादन गर्नेलाई प्रति किलो तीन रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभएको छ ।