१ चैत्र २०८२, आईतवार
प्रेस सेन्टरद्वारा गुल्मीका सबै पालिकामा सुझाव पेश
रेसुंगा समाचारदाता गुल्मी, ७ असार । प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीले जिल्लाका सबै पालिकामा सुझाव पेश गरेको छ । आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटमा संचारकर्मी एवं संचारमाध्यमका विभिन्न हीतका माग राख्दै पालिकामा सुझाव पत्र पेश गरिएको हो । जिल्लाको रुरुक्षेत्र, धुर्कोट, छत्रकोट, रेसुङ्गा र गुल्मीदरबारमा भौतिक रुपमै उपस्थित भएर सुझाव पत्र प्रदान गरिएको थियो भने अन्य पालिकामा इमेलमार्फत सुझाव पत्र पेश गरिएको संगठनका जिल्ला अध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिए । पालिकाले संचार नीति ल्याउने र त्यसमा पालिका एवं जिल्लाका संचार माध्यमको विवरण संकलन, आर्थिक स्थिति, कर्मचारी संख्या, संचारमाध्यमको प्रभावकारिता लगायतका बिषय अध्ययन गर्ने र त्यसको आधारमा कार्यविधि बनाई अनुदानका कार्यक्रम संचालन गर्नुपर्ने सेन्टरको सुझाव रहेको छ ।
सुझावमा गुल्मी जिल्लालाई आधार बनाएर संचालन भइरहेका अनलाईनलाई समेत समेट्न आग्रह गरिएको छ । जिल्लामा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने पत्रकारहरुलाई छात्रबृत्तीको व्यवस्था गर्नुपर्ने, स्थानीय पत्रकारहरुको निःशुल्क स्वास्थ्य र दुर्घटना बीमा गरिदिनुपर्ने, संचारमाध्यमको हकमा चट्याङ, हावाहुरी तथा प्राकृतिक विपत्तीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संचारमाध्यमको सम्पत्ती बीमा गर्न सेन्टरले सुझाव दिएको छ । त्यसैगरी संचारमाध्यमलाई उकरण खरिदमा अनुदानको व्यवस्था, विज्ञापन तथा सूचनाको लागि पालिकाभित्र संचालन भएका मिडियालाई पहिलो प्राथमिकता, पालिकाले प्रत्येक चौमासिक रुपमा पत्रकार सम्मेलनमार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । संचार क्षेत्रमा बिनियोजन भएको बजेट अन्य क्षेत्रमा खर्च गर्न नहुने एवं पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि क्षमता विकाससम्बन्धि तालिमहरु संचालन गर्नुपर्ने लगायतका सुझाव प्रेस सेन्टर गुल्मीले दिएको छ ।

