कृषि ज्ञान केन्द्रद्वारा गुल्मीमा उत्कृष्ट कृषकहरु सम्मानित

admin

२०८२ असार २२ गते, आईतवार ०७:०७ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, २१ असार । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा व्यावसायिक रुपमा कृषि कर्म गर्ने उत्कृष्ट कृषकहरु सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत “कृषक सम्मान” कार्यक्रम अन्तर्गत चारवटा विधाबाट एकएक जना गरि चार जनालाई नगद रासी सहित सम्मान गरिएको हो ।

यसरी सम्मानितहुने उत्कृष्ट कृषकहरुमा तरकारी विधाबाट रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय वहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्की एवं फलफूल विधाबाट धुर्कोट गाउँपालिका –२ पिपलधारा स्थित मौरी तथा सुन्तला फर्मकी सञ्चालक रातादेवी खनाल हुनुहुन्छ । त्यसैगरी च्याउ विधाबाट छत्रकोट गाउँपालिका –४ रुक्से स्थित द–हिमालयन एग्रोफर्म नेपालका सञ्चालक कृष्णप्रसाद कँडेल र मौरी विधाबाट रेसुङ्गा नगरपालिका –८ स्थित रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फर्मका सञ्चालक विष्णुमाया श्रीस रहनु भएको छ ।

मौरी विधाबाट सम्मानित हुने विष्णुमायाले मौरी गोला र घार बिक्रीबाट वािर्षक ५ लाख बराबरको कारोवार गर्दैआएको बताउनु भएको छ भने तरकारी बिधाबाट उत्कृष्टहुने रेणु सार्कीले वार्षिक रुपमा २५ देखि ३० लाखसम्मको कारोवार गर्नेगरेको बताउनुभयो । त्यसैगरी फलपूmल विधाबाट सम्मानित हुने तारादेवी खनालले २९ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेर वार्षिक १४ देखि १५ लाख रुपैयाँसम्मको कारोबार गर्दै आउनु भएको छ भने च्याउ विधाबाट सम्मानित हुनुहुने कृष्णप्रसाद कँडेलले वार्षिक १२ देखि १४ लाखसम्मको कारोबार गर्ने गरेको बताउनु भयो ।

कार्यालयले रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय वहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्कीलाई यस वर्षको सर्वोकृष्ट कृषकको रुपमा नगद रु दश हजार रुपैयाँ सहित सम्मान गरेको थियो भने अन्य कृषकहरुलाई पाँच÷पाँच हजार रुपैयाँ सहित सम्मान गरेको थियो ।

कृषक सम्मानका लागि कृषि ज्ञान केन्द्र गुल्मीले गत पुस महिनामा पन्ध्रदिने सूचना प्रकासित गरि कृषकहरुबाट निवेदन आव्हान गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताउनु भयो । उक्त सम्मानका लागि कार्यालयमा १६ जना कृषकहरुले निवेदन पेश गरेका थिए । छनौट प्रक्रियाका लागि कार्यालको तर्फबाट तीन जनाको मूल्याङ्कन समिति गठन गरी सम्बन्धित पालिकाका कृषि शाखा प्रमुख वा प्रतिनिधिहरुको रोहवरमा उत्कृष्ट कृषकहरुको छनोट गरिएको बताईएको छ ।

छनौट प्रक्रिया अन्र्तगत गरिएका मूल्याङ्कनका मुख्य आधारहरुमा समावेशी, आवद्धता समय, उत्पादनहुने क्षेत्रफल, फर्म दर्ता, उन्नत प्रविधि, समूहमा आवद्धता, कृषि यान्त्रीकिकरणको प्रयोग, तालिम, स्थलगत अनुगमन लगायतका सूचकहरु रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धिताल सहित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयका प्रमुख रमेश जैसवालले सम्मानितहुने कृषकहरु बधाई दिँदै कृषकहरुलाई आगामि दिनमा अझ थप क्रियाशिल बनि अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

गुल्मी जिल्लामा हाल व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरु एक सय ४५, सुन्तला खेती गर्नेहरु एक सय ९७ जना, मौरीपालन गर्नेहरु २५ र च्याउखेती गर्नेहरु १२ जना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।