१ चैत्र २०८२, आईतवार
पहिरोका कारण एक घरपविार विस्थापित, स्वास्थ्य चौकीमा क्षती, गोठ भत्किदा पाँच चौपाया मरे
गुल्मी, १९ साउन । अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको चन्द्रकोटमा रहेको एक स्वास्थ्य चौकीमा क्षती पुगेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –१ सराङ् स्थित दिब्रुङ स्वास्थ्य चौकीमा सोमबार बिहान बर्षाको कारण माथिबाट पहिरो खस्दा स्वास्थ्यचौकीमा क्षती पुगेको हो । पहिरोका कारण उक्त स्वास्थ्यचौकीको पछाडिको सुत्केरी स्याहार कक्षमा पुर्ण रुपमा क्षति पुगेको बताईएको छ ।
घटनाको जानकारी पाउनासाथ ईलाकाप्रहरी कार्यालय चन्द्रकोटबाट गएको प्रहरी टोली र स्थानीय वडाकार्यालयको पहलमा अहिले स्वास्थ्यचौकीमा खसेको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गोठ भत्किदा पाँच चौपायाको क्षती
त्यसैगरी वर्षाको कारण गुल्मीको मुसिकोट नगरपालिकामा गोठ भत्किदा पाँचवटा चौपायाहरु मरेका छन । मुसिकोट नगरपालिका –१ स्थित रगनाम बस्ने जयबहादुर थापाको सोमकार अपरान्ह कच्ची गोठ भत्किदा गोठमा रहेका ३ वटा गाई, एउटा बाच्छा र एउटा बाख्रा पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिनुभएको छ ।
घटनाको जानकारी पाउना साथ पौदीअमराई प्रहरी चौकीबाट प्रहरी नायव निरिक्षक लखनलाल चौधरीको नेतृत्वमा प्रहरी टोली उद्वारको लागि तत्कालै घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोका कारण चार जना विस्थापित
पहिरोका कारण जिल्लाको चन्द्रकोट गाउँपालिकामा एक घर परिवारका चार जना विस्थापित बनेका छन । विस्थापित हुनेमा चन्द्रकोट गाउँपालिका –४ पुङ्गा निवासी अमर बहादुर कुमालको चार जनाको परिवार रहेको छ ।
पहिरोका कारण उहाँको दुईतले कच्ची घर भत्किन लागेपछि उहाँहरु विस्थाति हुनुभएको हो । विस्थापित परिवारलाई अहिले आश्रयका लागि आफन्तकोमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले बताउनुभयो । गुल्मीमा दुईदिनदेखि लगातार रुपमा वर्षा भैरहेको छ ।

