गुल्मीदरबारद्वारा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

admin

२०८२ श्रावण ३१ गते, शुक्रबार २१:१७ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी ३० साउन । गुल्मीदरबार गाउँपालिकाले आर्थिवर्ष २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले गत बर्षको वार्षिक बजेट तथा कार्यक्रममा पुर्वाधार निर्माणसंगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । पालिकाले गत आर्थिक बर्षमा १७६ योजना सम्पन्न गरेको जनाएको छ । गुल्मीदरवारले गत आवमा चालु तर्फ ८७.६९ र पुजिँगत ८४.८४ गरि कुल ८६.२६ प्रतिशत बजेट खर्च गरेको छ ।

गाउँपालिकाले आयोजना गरेको जार्षिक समीक्षा कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार सेवा प्रवाह तर्फ नाता प्रमाणित ६०८, आम्दानी प्रमाणित ११३ र नागरिकता सिफारिस ७७६, नावालक ३५, पेन्सन सिफारिस ५९, अन्य प्रमाणित एक हजार ३३०, अनुगमन ९० पटक, संस्था दर्ता सात र आठ वटा संस्था नविरण लगायतका सेवा प्रवाह गरिएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।

पालिकाले विभिन्न १९ वटा शिर्षकमा गरेर ९९ लाख १८ हजार ३०७ रुपैयाँ राजश्व संकलन गरेको छ । गुल्मीदरवार गाउँपालिकामा गत आर्थिक बर्षमा ८२ कृषि तथा पशुपंक्षी फर्म र व्यावसाय दर्ता भएका छन् । अहिलेसम्म गाउँपालिकामा ८१९ व्यावसायीक फर्महरु दर्ता भएका छन् । व्यावसाय नविकरण ५१२, लगत कट्टा १०५ गरेर संचालनमा ७१४ व्यावसाय रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत टंक पन्थीले जानकारी दिनुभयो ।

गुल्मीदरवार गाउँपालिकाले गत बर्ष १३ करोड ३३ लाख पाँच हजार ३१३ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जसमा गाउँपालिकाले ३९ जना अविवाहित नागरिक भत्ता दिएको छ । उनीहरुलाई गाउँपालिकाले मासिक एक हजारका दरले चार लाख ५६ हजार रुपैयाँ भत्ता दिदै आएको छ ।

गुल्मीदरबारमा ‘ग’ बर्षका अपाङ्ग ९८, जेष्ठ नागरिक अन्य एक हजार ९१३, जेष्ठ नागरिक दलित १६३, जेष्ठ नागरिक एकल महिला ३१४, विधवा महिला ५८५, पूर्ण अपाङ्ग ‘क’ ७८, अति अशक्क्त अपाङ्ग ‘ख’ १४७ र दलित वालवालिका पाँच बर्ष मूनिका १९९ जना रहेका छन् । गत आर्थिक बर्षमा १५० जनाको लगत कट्टा गरिएको छ ।

गुल्मीदरवार गाउँपालिकामा २८७ पुरुष र २६५ महिला गरेर ५५२ जनाले जन्मदर्ता गरेका छन् । १५८ पुरुष र १२७ महिला गरेर २८५ जनाले मृत्युदर्ता गरेका छन । गत बर्ष २९० बिबाह दर्ता भएका छन् । पाँच परिवार बसाइँ सरेर आए भने ७५ घर परिवार बसाई गरेर बाहिर गएको पाइएको छ । पालिकाले अध्यक्षसँग वालवालिका, जेष्ठ नागरिक परिचय पत्र वितरण, लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान, जेष्ठ र दलित नागरिक सम्मान, टोल–टोलमा सामाजिक सुरक्षा वितरण, बजार अनुगमन, महिला दिवस मनाउने, महिलालाई पञ्चेवाजा बजाउने तालिम, मेसिनबाट दुनाटपरी बनाउने तालिम गरिएको गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले बताउनुभयो ।

स्वास्थ्य तर्फ पूर्ण खोप, पोषण र पूर्ण संस्थागत पालिका सुनिश्चितासँगै प्रजनन रुग्गणता, सुरक्षित गर्भपतन, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्यको कार्यक्रम भएका छन् । स्पाइनल प्यारालाइसिस भएका चार, मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गर्ने १२, क्यान्सरका ३४ जनाले सेवा पाएको स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले जानकारी दिनुभएको छ । कृषि तर्फ उत्पादनमा आधारित अनुदान वितरण, सम्मान, अभिमुखीकरण, बिउ, मल औजार र सामग्री वितरण गरिएको बताईएको छ ।

गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले यस्ता प्रकारका समीक्षा कार्यक्रमहरुले आगामी दिनमा काम गर्न नयाँ सिकाई र दक्षता प्रदान गर्ने भएकाले सवैका सुझाव अनुसार नयाँ कार्यक्रमहरु कार्यान्वयन गदै जाने बताउनुभयो । उहाँले सवैको उदेश्य गुल्मीदरवारलाई संमृद्ध बनाउने भएकाले सबैको आपसी सहयोग, सद्भाव र सल्लाह बमोजिम अगाडी बढ्दै जाने बताउनु भएको थियो ।