३ बैशाख २०८३, बिहीबार
घरेलु कार्यालयद्वारा मुसिकोटमा बजार अनुगमन
गुल्मी, २९ असोज । चाँडबाँड शुरु आएसँगै घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लामा बजार अनुगमनलाई तिबता दिँदै आएको छ । कार्यालय हालै मुसिकोट नगरपालिका भित्र विभिन्न ४८ वटा पसलमा बजार अनुगमन गरेको छ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको हित र कालोबजारी नियन्त्रणका लागि अनुगमन कार्यलाई सक्रियता दिईएको कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा गरिएको अनुगमन टोलीले नगरपालिका भित्रका ६ वटा वडाहरुमा खाद्य सामग्री, फलफूल, किराना, मासु पसल, हार्डवेयर, मोबाइल तथा औषधि पसलहरूमा मूल्य सूची, म्याद सकिएका सामान, बिलिङ् प्रणाली र दर्ता प्रमाणपत्र जस्ता विषयमा निरीक्षण गरेको थियो ।
अनुगमनको क्रममा केही पसलमा मूल्यसूची टाँस नगरेको, बिल नदिएको र म्याद समानहरु बिक्रीका लागि राखिएको, खाद्य तथा मासुजन्य वस्तुहरु एउटै पसलमा राखेको, वर्षौदेखि पसलहरु नविकरण तथा दर्ता नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले जानकारी भयो ।
कार्यालयले विशेषगरि चाडपर्वका बेला उपभोक्ता ठगिन नपाउन र बजार मूल्यमा एकरुपता होस भन्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिएको होे । उहाँले उपभोक्ताको हकहित विपरीत गतिविधि गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कारबाही समेत गरिने बताउनु भएको छ ।
अनुगमनको क्रममा बरामद गरिएका सामग्रिहरुलाई स्थानीयहरुको रोहवरमा नष्ट गरिएको बताईएको छ । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका प्रतिनिधि, मुसिकोट उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यालयले यस अघि जिल्लाको धुर्कोट गाउँपालिका विभिन्न पसलहरुबाट एक लाख २१ हजार ३६८ रुपैयाँ बरावरका अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरेको थियो । व्यावसायीहरुलाई अनुगमनको क्रममा पटक पटक सुझाव दिँदा पनि अटेर गर्ने र वेवास्ता गर्नेहरुको हकमा उनीहरुको सामान बरामद गरिएको अर्यालले बताउनुभयो । उपभोक्ताहरुवाट सूचना र गुनासा आउना साथ तत्काल उक्त ठाउँमा पुगेर अनुगमन गर्ने गरिएको बताईएको छ ।

