३ बैशाख २०८३, बिहीबार
रेसुङ्गा नगरपालिकाद्वारा लगानी सम्भाव्यता सम्बन्धि अन्र्तक्रिया
गुल्मी, १२ कात्तिक । रेसुङ्गा नगरपालिकाद्वारा नगरभित्र रहेका सम्भाव्य लगानी क्षेत्रहरूको पहिचान गर्ने उद्देश्यले लगानी सम्भाव्यता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले जिल्लाको पर्यटन क्षेत्रको विकासमा जोड दिएका छन ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले नगरको संमृद्धि र दिगो विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताउनु भएको छ । नगर प्रमुख पन्थीले रेसुङ्गा नगरपालिकामा कृषि, पर्यटन, उद्योग, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको विशाल सम्भावना रहेको ओल्याउनु भएको थियो । उहाँले यी कुनै पनि क्षेत्रमा लगानी गर्ने व्यक्ति तथा संस्थाहरुलाई नगरपालिकाले लगानी अनुकूल नीति, पूर्वाधार र सहजीकरणमा प्राथमिकता दिने समेत प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थी एवं माल्टाका अध्यक्ष रेमलाल खनालले पर्यटन प्रवद्र्धनको माध्यमबाटनै रेसुङ्गालाई राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने भन्दै उक्त क्षेत्रमा लगानी गर्न आफुहरु सबै तयार रहेको बताउनु भएको थियो । सोही कार्यक्रममा रेसुङ्गा नगरपालिकाद्वारा एनआरएनका दुवै अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, विभिन्न शैक्षिक एवं सामाजिक संघ संस्थाका प्रतिनिधि,उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा रेसुङ्गा नगरपालिकाको तर्फबाट गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले नगर भित्र रहेका सम्भाव्य लगानी क्षेत्रहरूको बारेमा आफ्नो प्रस्तुतिकरण पेश गर्नुभएको थियो ।
कार्यक्रममका सहभागिहरुले नगरपालिकाले निजी क्षेत्रलाई लगानीको वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नगर प्रमुख पन्थीले सहभागिहरुबाट आएका सल्लाह तथा सुझाबहरु नगरको विकासको लागि आगामी दिनमा थप महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

