गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा चार जना घाइते

admin

२०८२ पुष १८ गते, शुक्रबार १०:१४ मा प्रकाशित

गुल्मी, १८ पुस । गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा चार जना घाइते हुनुभएको छ । दुर्घटनामा मोटरसाइकल चालक मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय बसन्त अर्याल र मोटरसाइकलको पछाडि सवार ५६ वर्षीया मनकला अर्याल, बसमा सवार मालिका गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया शिक्षिका लिलावती अर्याल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते चारै जनालाई उपचारका लागि अहिले गुल्मी अस्पताल ल्याईँदै गरिएको छ । घाईतेहरु मध्य मनकला अर्यालको स्वास्थ्य अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

मालिकाको राम्चेबाट शुक्रबार बिहान विद्यार्थीहरूलाई बोकेर बनभोजका लागि पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इलिस बोर्डिङ् स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०१–००ख०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक चुरा बहादुर थापा र बसलाई प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।