गुल्मीमा ७९ जनाले पाए जग्गाधनी प्रमाणपुर्जा

admin

२०८३ जेष्ठ ५ गते, मंगलवार १९:४७ मा प्रकाशित

गुल्मी, ५ जेठ । गुल्मीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीमध्ये ७९ जनाले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । विघटित भूमि समस्या समाधान आयोग जिल्ला समिति गुल्मीले मंगलबार पत्रकार सम्मेलन गरी जिल्लामा हालसम्म ७८ जना अव्यवस्थित बसोबासी र एकजना भूमिहीनले लालपुर्जा प्राप्त गरेको जानकारी दिएको हो ।

समितिका पुर्व अध्यक्ष कृष्ण सुनारका अनुसार जग्गाधनी प्रमाणपुर्जा पाउनेहरुमा रेसुङ्गा नगरपालिकाका १६ जना, छत्रकोट गाउँपालिकाका १८ जना, मदाने गाउँपालिकाका २७ जना तथा रुरुक्षेत्र गाउँपालिकाका १४ जना अव्यवस्थित बसोबासी र एकजना भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको छ ।

अव्यवस्थित बसोबासीहरुलाई वितरण गरिएको जग्गाधनी प्रमाणपुर्जाबाट रु पाँच लाख ८३ हजार चार सय ७० रुपैयाँ राजस्व सङ्कलन भएको समितिले जनाएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये हालसम्म दुई हजार ६ सय ७१ जनाको लगत सङ्कलन तथा अभिलेखीकरण गरिएको छ । तीमध्ये तीन सय भूमिहीन दलित, दुई सय ३१ भूमिहीन सुकुम्बासी र दुई हजार दुई सय २० अव्यवस्थित बसोबासी रहेका छन् ।

अन्य स्थानीय तहमा भने लगत सङ्कलन, तथ्याङ्क प्रविष्टि, छानबिन तथा प्रमाणीकरणको काम भइरहेको समितिले जनाएको छ । पत्रकार सम्मेलनमा समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरेर काम गरेको उल्लेख गरेको छ ।