३ बैशाख २०८३, बिहीबार
छुपुमा छुपु : सय रोपनीमा एकैदिन रोपाइ
गुल्मी, ३ साउन
अहिले गाउँमा खेतलानै पाइँदैन् । बसाइसराइँले गाउँका उर्वर खेतबारी बाँझा छन् । उत्पादकत्व कम हुने भएकाले जाँगरले खेती गर्नेहरु पनि कम हुँदै गएका छन् । तर, शविबार गुल्मीको धुर्कोट गाउँपालिका–६ सिस्तुङ्ग फाँँट खेतला र ठिँगारेले भरिएको थियो । जुन अहिले दुलर्भ तस्विर हो । स्थानीय अगुवा कृषक ५४ बर्षीय मेघनाथ अर्यालले दुई बर्षदेखि आफ्नो खेतको रोपाइँलाई उत्सवको रुपमा विकास गर्नुभएको छ । कलाकारहरुको वाली र स्थानीय झ्याउरे भाकासंगै र पञ्चेबाजा नाच्नेहरुका कारण मेलोेका खेतला र ठिँगारेलाई काम गरेको महसुसनै थिएन् ।
अर्यालले बर्सेनी गर्दै आएको रोपाइँ महोत्सवमा हेर्ने र रमाइलो गर्न स्थानीय सरकारका प्रमुखदेखि सरकारी अड्डाका मान्छेहरुको सिस्तुङ्ग पुग्छन् । अर्यालले दुई बर्षदेखि व्यक्तिगत लगानीमा सय रोपनी खेतमा धान रोप्दै आउनु भएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारसंगै पञ्चेबाजाको तालमा हेर्न आउनेहरुले सिस्तुङ्ग फाँँट भरिभराउ थियो । काम र मनोरञ्जनसंगै गर्ने उदेश्यले रोपाइँलाई महोत्सवको रुपमा अगाडी बढाउन एकैदिन काम गर्ने गरेको कृषक मेघनाथ अर्यालले बताउनुभयो । उहाँले महोत्सवलाई आम्दानी र खर्चसंग मात्रै जोडेर आफुले कहिल्यै नहरेको बताउँदै बाँच्ने र सक्ने बेलासम्म निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । पहिले गाउँहरुमा धेरैले बाजासहित रोपाइँ गर्ने चलन भएपनि पछिल्लो समय हराउँदै गएकाले संस्कृति संरक्षणको प्रयास पनि भएको बताउनुभयो ।
कोरियाको कमाईले वुटवलमा लामो समय बस्दै आउनु भएका अर्याल २०७७ सालबाट सहर छोडेर गाउँ फर्किनु भएको छ । एक करोड लगानी गरेर व्यावसायीक भैसीपालन गर्नुभएका अर्यालले दैनिक १०० लिटर दुध बिक्री गर्नुभएको छ । गत बर्षपनि एकै दिन एक सय रोपनीमा धान रोप्नु भएका अर्यालले मंसिरमा ४०० मुरी धान भित्राउनु भएको थियो । आफ्नो ७२ रोपनी र लिजको २८ गरेर १०० रोपनी खेतमा धान रोप्दै आउनु भएको छ ।
एकैदिन रमाइलो गरेर धान रोप्दा भड्किलो भयो भन्नेहरु पनि मंसिरमा आगनको धानको थुप्रो देखेर छक्क परेको कृषक मेघनाथ अर्यालले बताउनुभयो । उहाँले धुर्कोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र अर्याल आफैले लगानी गरेर अर्याल खाद्यान्य प्रशोधन तथा प्याकेजिङ्ग उद्योग संचालन गर्दै धुर्कोटे चामलको बजारिकरण सुरु गर्नुभएको छ ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले मेघनाथ अर्यालले सवै काम उर्जा र उत्साहका साथ गरिरहेको बताउनुभयो । उहाँले व्यवहारमा परिणाम पनि देखाएकाले आफुहरुको सहयोग र सद्भाव सधै रहेको बताउनुभयो । गाउँका डेढ सय जनालाई एकैदिन जम्मा गर्दा उत्सवसंगै रोजगारी र संस्कृति संरक्षणको कुरा जोडिएको पोख्रेलले बताउनुभयो ।

