१३ जेष्ठ २०८३, बुधबार
गुल्मीमा पहिलो पटक मनाइयो विश्व मत्स्य दिवस
गुल्मी, ५ मंसिर । विश्व मत्स्य दिवसको अवसरमा गुल्मी जिल्लामा पहिलोपटक औपचारिक रूपमा माछा दिवस मनाइएको छ। रूरूक्षेत्र गाउँपालिका–५, पॅागामा रहेको श्रीकृष्ण एकीकृत कृषि पशुपन्छी मत्स्य अनुसन्धान फार्ममा आयोजित कार्यक्रममा स्थानीय माछा पालक कृषक, जनप्रतिनिधि तथा पशु सेवा सम्बन्धी सरकारी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजना एवं नेपाल फिसरिज टेक्निसियन एशोसिएसन संस्थाको सहयोगमा सञ्चलित अन्तरक्रिया कार्यक्रममा माछापालन प्रवर्द्धन, उत्पादन अभिवृद्धि तथा प्राविधिक ज्ञान विस्तारमा जोड दिइएको थियो ।
कार्यक्रममा बोल्दै रूरूक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, नेपाल फिसरिज टेक्निसियन एशोसिएसनका केन्द्रीय अध्यक्ष रमेश जैसवाल, तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेय लगायतले जिल्लामा माछा उत्पादनको सम्भावना, पौष्टिकता तथा बजार विस्तारका विषयमा प्रकाश पार्नु भएको थियो। वक्ताहरूले आधुनिक प्रविधि, तालिम तथा सरकारी सहयोग मार्फत माछापालनलाई थप व्यावसायिक बनाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कृषक होमबहादुर श्रीसले ट्राउट माछा पालनका सम्भावना र चुनौतीबारे अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रममा कृषकहरूले आवश्यक तालिम, प्रविधि तथा सहुलियतपूर्ण कार्यक्रमको पहुँच अभाव भएका कारण उत्पादन विस्तारमा चुनौती थपिएको धारणा व्यक्त गर्नु भएको थियो । कृषकहरूले बजारको अभाव नभए पनि व्यावसायिक ज्ञान, उपकरण तथा परामर्श सेवामा अझै सुधार आवश्यक रहेको औल्याउनु भयो ।
स्थानीय तह, प्राविधिक निकाय र कृषकबीच समन्वय गर्दै जिल्लामा माछापालनलाई दिगो र आर्जनमूलक व्यवसायका रूपमा विकास गर्न सकिने निस्कर्ष निकालिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीकी पशु चिकित्सक डाक्टर सोनिया थापाले जानकारी दिनुभएको थियो ।

