गुल्मीमा विद्यार्थीहरुलाई अन्तरपुस्ता अनुभव हस्तान्तरण 

admin

२०८२ पुष ४ गते, शुक्रबार १७:२६ मा प्रकाशित

गुल्मी, ४ पुस । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा रेसुंगा माध्यमिक विद्यालय गुल्मीमा जेष्ठ नागरिक र विद्यार्थीबीच अन्तरपुस्ता ज्ञान तथा अनुभव हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको छ ।

पुस्तान्तरण हुँदै आएको सामाजिक, सांस्कृतिक तथा शैक्षिक ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालले अन्तरपुस्ताबीच अनुभव साटासाटको आवश्यकता औंल्याउँदै शिक्षाको वास्तविक उद्देश्य व्यवहारमा देखिनुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरुमा किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै सामाजिक शिक्षामा व्यवहारिकता नदेखिए किताबी ज्ञानको पनि कुनै अर्थ नहुने उल्लेख गर्नु भएको थियो । सामाजिक विकास डिभिजन कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई विद्यार्थीहरूसँग जोड्दै अन्तरपुस्ताबीच ज्ञान–आदानप्रदान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकामा रहेका विद्यालयहरु शिक्षा र विकासका हिसाबले प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले मौलिक संस्कृति र परम्परालाई संरक्षण र अनुकरण गर्नुपर्नेमा जोड दिँदै आयातित संस्कृतिको बढ्दो प्रभावप्रति सचेत रहन आग्रह गर्नुभयो ।

रेसुंगा नगरपालिका भित्रका एक दर्जन भज्दा बढी विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले अर्खलेको फागु नाच, राङबासको कालिका नाच, मारुनी नाच, तम्घासस्थान मन्दिरको धार्मिक महत्व, गुरुङ जातिको संस्कृति, लोकगीत, पञ्चेबाजा, मादल र डम्फू, घाटु तथा कौरा नाच, गुरुङ पोशाक, तमु ल्होसार, दशैं, तिहार, तीज लगायत पर्वहरू र तिनले सामाजिक तथा सांस्कृतिक जीवनमा पारेको प्रभावबारे प्रस्तुतिकरण गरेका थिए ।

रेसुंगा माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं बौद्धिक व्यक्तित्व शशि पन्थीले गुरुकुल र ऋषिकुल पद्धतिदेखि श्रुति–स्मृति परम्परा, कर्ण परम्पराबाट शिक्षा दिने अभ्यास, वेदको महत्व, देवनागरी लिपिको विकास, शिलापत्र, भोजपत्र हुँदै मुद्रण कला र आधुनिक कम्प्युटर युगसम्म आईपुग्दाको शिक्षाको विकासक्रमको बारेमा जानकारी गराउनु भएको रेसुंगा माध्यमिक विद्यालयका प्राधानाध्यापक भागीरथ भण्डारीले जानकारी दिनुभयो