१८ बैशाख २०८३, शुक्रबार
गुल्मी जिल्ला समाज युकेद्वारा आर्थिक सहयोग हस्तान्तरण
गुल्मी, २२ पुस । गुल्मी जिल्ला समाज युकेले जिल्लाका अशक्त, असहाय तथा सामाजिक संस्थालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अपाङ्गता दिवसको अवसरमा बेलायत (युके) मा सङ्कलन गरिएको उक्त सहयोग रकम मंगलबार एक कार्यक्रमबीच सदरमुकाम तम्घासमा वितरण गरिएको हो ।
समाजबाट इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बिना नेपालीले ५० हजार रुपैयाँ सहयोग प्राप्त गर्नुभएको छ । सानै उमेरदेखि दुवै खुट्टा र दायाँ हात चल्न नसक्ने समस्या भएकी उहाँ उपचार गर्दा पनि निको हुन नसकेको बताउनुभयो । “काम गर्न नसकेर घरमै बस्नुपर्छ, यस्तो अवस्थामा सहयोग पाउँदा ठूलो राहत मिलेको छ,” उहाँले भन्नुभयो । उहाँलाई आशा अपाङ्ग केन्द्र गुल्मीको समन्वयमा सहयोग प्रदान गरिएको हो । केन्द्र मार्फत उहाँको घरमा अपाङ्गमैत्री शौचालय र खानेपानीको समेत व्यवस्था मिलाईएको छ ।
यस्तै गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रविन राना दुर्घटनापछि स्पाइनल कट (घाँटीको मेरुदण्ड) सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । आर्थिक अभावका कारण उपचार गर्न नसक्नु भएका रानालाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरिएको छ । सहयोग रकम उहाँका बुबा नेत्रबहादुर राना मार्फत हस्तान्तरण गरिएको हो ।
गुल्मी जिल्ला समाज युकेले सत्यवती बहुमुखी क्याम्पसलाई एक लाख, आशा अपाङ्ग केन्द्रलाइ एक लाख, रेडियो पुष्पाञ्जलीलाई ५० हजार र रुरुक्षेत्र अटिजम पाठशालालाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । त्यसैगरी सत्यवती गाउँपालिका–४ का अशक्त ईश्वर शर्मा, अनुज ज्ञवाली, इस्मा गाउँपालिका–३ की बिना नेपाली र गुल्मीदरबार–५ का नेत्रबहादुर रानालाई जनही ५० हजार रुपैयाँ सहयोग गरिएको गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापा मगरले जानकारी दिनुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विदेशमा रहेर पनि स्वदेशमा अशक्त, असहाय र पीडितलाई सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापाले आगामी दिनमा नगद सहयोगसँगै सीपमूलक तालिम र अक्षयकोष स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।
आशा अपाङ्ग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेले गुल्मी जिल्ला समाज युकेले विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको बताउँदै गुल्मी जिल्ला समाज युके र सबै सहयोगी मनहरुप्रति आभार प्रकट गर्नुभएको थियो । यस अघि युकेमा रहेको प्रथम नौमती बाजा समूह गुल्मीले पनि आशा अपाङ्ग केन्द्रलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

