गुल्मी–२ मा गोविन्द पन्थी विजयी, बिष्ट झिनो मतले पराजित

admin

२०८२ फाल्गुन २३ गते, शनिबार १८:१० मा प्रकाशित

गुल्मी, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी हुनुभएको छ । सनिबार दिउसो सम्पन्न अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गर्दै पन्थी पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार अन्तिम मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्हका उम्मेदबार पन्थीले १६,९६७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले (सूर्य) चिन्हका बिष्टले १६,४०६ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै नेपाली काँग्रेस (रुख) चिन्हका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४,४३४ मत प्राप्त गर्दै तेस्रो स्थान र नेपाल कम्युनिस्ट पार्टी (तारा) चिन्हका उम्मेदवार श्रीराम महतले ३,०८१ मत प्राप्त गर्नुभएको थियो ।

एक लाख ७ हजार ३६३ मतदाता रहेको उक्त क्षेत्रमा ५३ हजार एक सय ४२ मत खसेको थियो । मतगणनाको क्रममा पन्थी र विष्ट बिच सुरुदेखि नै रोचक प्रतिस्पर्धा देखिएको थियो । मत गणनाको बिच चरणमा पन्थीलाई पछाडि राखेर अग्रता ल्याउनु भएका बिष्टलाई अन्तिम समयतिर आउँदै गर्दा पन्थीले पुनः अग्रता कायम राख्दै अन्तिम चरणमा जित निकाल्न सफल बन्नुभएको थियो ।

नवनिर्वाचित पन्थीलाई निर्वाचन अधिकृत पौडेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सांसद पन्थीले सबैको सहयोग र सल्लाह अनुसार आफुले जिल्लाको विकास र संमृद्धिका लागि काम गर्ने बताउनु भएको छ ।

गुल्मी जिल्ला, मदाने गाउँपालिका वडा नम्बर–७ स्थित भनभनेमा २०३१ साल फागुन १६ गते जन्मिनु भएका गोविन्द पन्थी राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता हुनुहुन्छ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) को पदबाट अवकासपछि उहाँले अधिवक्ताको भूमिकामा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको थियो ।

नेपाल प्रहरीमा लामो समय सेवा गर्नु एका पन्थी संगठन र नेतृत्वको इमान्दारीका महत्वपूर्ण सिकाईहरुको बारेमा समेत जानकार हुनुहुन्छ । उहाँले संगठनमा सही नेतृत्वको महत्वमा विश्वास राख्दै, कुनै पनि संगठनलाई सफल बनाउने प्रमुख अंश भनेको सक्षम र इमान्दार नेतृत्व हो भन्ने मान्यता राख्नहुन्छ ।

उहाँले प्रहरी सेवामा कार्यरत रहँदा भिजिट भिषा र भुटानी शरणार्थी लगायत चर्चित काण्डहरूको सफल अनुसन्धान समेत गर्नुभएको थियो ।