५ मंसिर २०८३, शुक्रबार
कर शिक्षा कार्यक्रम सम्पन्न, सबैभन्दा बढी कर तिर्ने सहकारी सम्मानित
गुल्मी, ५ मंसिर । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय बुटवलको आयोजना, गुल्मी उद्योग वाणिज्य सङ्घको संयोजनमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत फर्शुराम पोखरेलले कर शिक्षासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। नेपाल सरकारको आर्थिक अध्यादेशमार्फत विभिन्न शीर्षकमा व्यवस्था गरिएका कर छुटसम्बन्धी प्रावधानलाई केन्द्रमा राखेर व्यवसायीहरूलाई सहज हुने गरी करसम्बन्धी जानकारी, कानुनी व्यवस्था तथा व्यवहारिक सिकाइका विषय प्रस्तुत गरिएको थियो।
प्रस्तुतीकरणका क्रममा कर छुटका व्यवस्था, त्यसको उपयोग गर्ने प्रक्रिया तथा व्यवसायीले ध्यान दिनुपर्ने विषयबारे जानकारी गराइएको थियो। कार्यक्रमपछि कर अधिकृत किरण भण्डारीले सहभागी व्यवसायीहरूका जिज्ञासा तथा करसम्बन्धी प्रश्नहरूको जवाफ दिँदै सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा गुल्मी जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष रामप्रसाद पन्थी लाई कदरपत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो। 
कार्यक्रम गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री मृगेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले स्वागत मन्तव्यसहित विषय प्रवेश गराउनुभएको थियो।
कार्यक्रमको सञ्चालन सङ्घका महासचिव चेतनारायण पाण्डेले गर्नुभएको थियो। सहभागी व्यवसायीहरूले करसम्बन्धी नयाँ जानकारी, कर छुटका व्यवस्था तथा व्यवहारिक जिज्ञासाको समाधान प्राप्त भएकाले कार्यक्रम जानकारीमूलक र लाभदायी भएको प्रतिक्रिया दिएका थिए।

