बिचित्रको “बिचित्र गुफा”

admin

२०८० चैत्र १६ गते, शुक्रबार २०:४८ मा प्रकाशित

भोजराज पाण्डेय,

नेपालको प्राकृतिक बनावट साच्चै लोभलाग्दो छ । प्राकृतिक शौन्दर्यता बाहेक यहांका जैबिक, भौगोलिक र सांस्कृतिक सम्पदाहरुको ख्यातीले गर्दा सुनमा सुगन्ध थप्ने काम गरेको छ । भौगोलिक कठिनाईको कारण कतिपय स्थानहरु अत्यन्त आकर्षक हुंदाहुंदै पनि मानिस पुग्न नसकेको अबस्था छ । कतिपय स्थानहरु प्रचार प्रसार र उचित संरक्षणको अभावमा ओझेलमा परेका छन् । बाटोघाटो तथा यातायातको अभावमा केहि स्थानहरु प्रचुर हुन सकेका छैनन भने कतिपय सरोकारवाला निकायको बेवास्ताको कारण पछाडी परेका छन् । यस्तै मध्येको गुल्मीको पश्चिमि भूभाग धुर्कोट गाउंपालिकाको वार्ड नं ५ मा रहेको बिचित्र गुफा पनि यथेष्ठ प्रचार प्रसारको अभावमा माथि उठ्न सकेको छैन । यो बिचित्र गुफा स्वदेशी, बिदेशी पर्यटक तथा भूगर्वबिदहरुलाई सत्कारको निम्ति पर्खाईमा रहेको स्थान हो भन्दा अतिशयोक्ति नहोला ।

रुपन्देहीको बुटवल बाट करिब १३८ किमी उत्तरतर्फ गुल्मी जिल्लाको सदरमुकाम तमघास पर्दछ । गुल्मी पुग्नलाई पहिले देखि नै संचालन र चलन चल्तीमा रहेको बुटवल, पाल्पा, रिडी हुंदै तमघासको सडक यात्रा नै मुख्य सडक मार्ग हो । हुनत यही बाटो हुंदै यात्रा गर्दा पाल्पा जिल्लामा रहेका बिबिध प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको रस्वसादन पनि लिन सकिने हुंदा गुल्मीलेहरुको लागि यो सडक नै प्रमुख रोजाईको सडक हो भन्न सकिन्छ । पछिल्लो समय पोखरा, पर्वत, बाग्लुङ, गुल्मीको वामी टक्सार हुंदै तमघास तथा जिल्लाको अन्य स्थानमा पुग्न सकिने गरि बाटो निर्माण भए पश्चात मानिसहरुले गुल्मी पुग्नको लागि यो बाटो पनि प्रयोग गर्ने गरेका छन् । यो बाटो समात्दा धुर्कोटमा रहेको प्रसिद्ध स्थल बिचित्र गुफामा पुग्न सजिलो पनि हुन्छ ।

बुटवल बाट यात्रा गर्दा पाल्पा जिल्लाको पबित्र तीर्थस्थल सिद्धबावा मन्दिरको बाँया हुँदै तिनाउँ नदीको तिरैतिर दोभान पार गरि अगाडि बढ्दा नदीलाई छोडेर सडकले कठिन पहाडी भूभाग भएको पाल्पाको प्रसिद्ध स्थान केराबारी हुंदै जानु पर्दछ । केराबारि अगाडी जोरधारा नजिक बाट तल हेर्दा कहाली लाग्दो अनकण्टार खोंचमा तिनाउ नदीको मसिनो प्रारुप मात्र देख्न सकिन्छ । यात्राको क्रममा बीच बीचमा माथि पहाडको खोचबाट बगेको कञ्चन झरनाको छवाङ छवाङ आवाजसँगै सिरसिर गर्दै आउने चिसो हावाको आनन्द कदापी बिर्सन सकिदैन् ।

पाल्पा जिल्ला सदरमुकाम तानसेन बजार पार गरि बतासेडांडा मुनिको बाक्लो र घना सालघारीको माझबाट उकालो हुँदै यात्रा गर्दा आउने खुशी र आनन्दले जो कोही पनि प्रभावित नहुने कुरै आउंदैन । इतिहासको कालखण्डमा नेपाल राज्य निर्माण हुनु भन्दा अगाडि त्यतिबेला अस्तित्वमा रहेका बिभिन्न बाइसे चौबिसे र भुरे टाकुरे राज्यहरु मध्ये पाल्पा राज्य अत्यन्त शक्तिशाली मानिन्थ्यो । यो राज्य शक्तिशाली हुनुमा यहांको कठिन भौगोतिक बनावट पनि प्रमुख आधार रहेको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । तानसेनको शीरमा रहेको बतासे डांडा पार गरे पछि पहाडको चुचुरो हुंदै प्रसिद्ध धार्मिक स्थल भैरवस्थान मन्दिरलाई दाहिने पारि अगाडि बढ्दा स्याङजा, गुल्मी र पाल्पा जिल्लाको संगम स्थलको रुपमा रहेको प्रसिद्ध तीर्थस्थल रहेको रिडी क्षेत्रको पश्चिमी साँध सीमाना भएर बग्ने रिडी खोला माथिको पक्की तर साँघुरो पुललाई पार गर्दा गुल्मी जिल्लामा पाइला टेकिन्छ । रिडी बजारबाट उकालो यात्रा सुरु गरी करिब ४५ किमी साँघुरो र घुमाउरो सडकको यात्रा पार गरेपछि अर्जुन र तपोभूमी रेसुङगा लेकको काखमा अबस्थित रमणीय तमघास बजार पुग्दा जो कोहीलाई पनि भारतको प्रसिद्ध पर्यटकीय शहर दार्जिलिङ पुगेको भान हुन्छ । पूर्वमा रेसुङगा र पश्चिममा अर्जुन लेकको काखमा अबस्थित रमणीय तमघास बजार देखेर मन नलोभ्याउने सायदै कोही होला ।

जिल्ला सदरमुकाम तम्घासलाई छोडेर उत्तर लाग्दा धुर्कोट गाउंपालिका वार्ड नं ५ मा रहेको बिचित्र गुफाको लागि यात्रा प्रारम्भ हुन्छ । तमघास देखि उत्तर यात्राको लागि बनेको सडक केहि अघि मात्र पीच भएको कारण यात्रा सहज हुन सकेको हो । अर्खले, सेउघा, छल्दी, धनार्जै हुंदै गुफा रहेको स्थान धुर्कोट पुग्न सकिन्छ ।

गुल्मी जिल्ला लगायत नेपालको पहाडका जिल्लाहरु अहिले बांदरको आतंकले ग्रसित जिल्लाहरुमा पर्दछन् । युवाहरु बैदेशिक रोजगारीको शिलशिलामा बिदेश गएको र जङगल छेउ टाढा टाढा रहेका बस्तीहरुमा मानिस बसोबास नगर्ने र खेतिपाति लगाउन पनि छाडेको कारण अहिले बांदर र ढेडुको हुल शहर छेउका बस्तीहरु सम्म आई मानिसहरुले लगाएको खेति सखाप पार्न थालेको छ । जिल्लामा बस्ने धेरै जसोले सोही कारण खेति लगाउन पनि छाडि खेतबारि बांझै राख्ने गरेका छन् । टाढाको के कुरा तमघासको बजार छेउ रहेका खेतबारिमा लगाइएको बाली स्याहार्ने बेलामा अरु सबै काम छाडेर बांदर धपाउने काममा त्यहांका युवा, बयस्क तथा बृद्धबृद्धा पनि लाग्नु पर्ने अबस्था छ । आंखा झिमिक्क पार्दा हुलका हुल बांदर बारीमा पसेर बालिनालि सखाप पार्ने गरेको छ । प्रत्येकको घरको मझेरीमा गुलेली र मट्याङग्रा अनिबार्य जस्तै बनेको छ ।

तर त्यही बांदर र ढेडुकै कारण गुल्मीको धुर्कोटमा रहेको बिचित्र गुफा पत्ता लागेको रोचक तथ्य हामी गुल्मीबासी संग छ । यो गुफा पत्ता नलागुन्जेल सम्म गाउंमा रहेको बस्ती खोल्सा र जंगलको बीचमा रहेको यो गुफा कुनै बेला ‘भूत बस्ने ओडार’ मा मात्र सीमित थियो । त्यति बेला ओडारदेखि माथि केहि सानो जङगल र सो भन्दा माथि खेतिपाति गर्न मिल्ने स्थानीय मानिसहरुका बारी थिए । तर अहिले भने पूरै जंगल बनेको छ त्यहाँ । कुरा २०४५ साल असार ५ गतेको हो । चैतमा रोपेको मकैले भर्खर घुगा हालेर मसिनो दाना बनेको थियो । मानिसहरु अब मकै पाक्न थालेकोमा खुशि थिए । तर त्यति नै बेला एक हुल ढेडुवाको बथान बारी छेउको जङगलमा आइपुग्यो । त्यस मध्ये केहि बारीमा पसेर मकै खान थाले । स्थानीय ४/५ जना मानिसहरुले हातमा लाठो बोकेर डेढुवा लखेट्न थाले । लखेट्दै जांदा २ वटा ढेडुवाहरु सो ओढार भित्र छिरे । स्थानीयहरु त्यतिले सन्तुष्ट भएनन । ओढार भित्र पस्न सजिलो थिएन । लाख कोशिश गर्दा पनि माथि कोही निस्कन सकेन । त्यहां नजिकै हांगा सहित रहेको तिजुको बोट थियो । त्यही तिजुको रुख ढालेर ओढार छेउमा भर्याङको रुपमा लगि ठड्याई मानिसहरु त्यसैको सहारामा ओढार भित्र पसे, ओढार अचम्मको थियो । मानिसहरुले पर पर सम्म लाइट बालेर पनि हेरे तर ढेडुवा भने भेटाउन सकेनन । भेटियो त सबैलाई चकित पार्ने विभिन्न आकृति सहितको “बिचित्र गुफा” ।

त्यस पश्चात गुफाको बारेमा फाटफुट चर्चा हुन थाल्यो । भित्रका अजिबका मूर्ति र आकृति हेर्न मानिसहरु टाढाटाढा बाट त्यहां आउन थाले । अफ्टयारो बाटोको कारण सबै उमेरका मानिसहरु सहज रुपमा त्यहा पुग्न सक्दैनथे । केहि हद सम्म स्थानीय मानिसहरुले त्यसको संरक्षण र ब्यबस्थापन गर्न थाले । सुरु सुरुमा गुफाको संरक्षण नहुंदा त्यहाँ भएका आकृति चोरी समेत हुन थाले । त्यसपछि वि.सं. २०६७ सालतिर यसको ब्यबस्थित संरक्षण गरिन थालियो । गुफा संरक्षणका लागि विचित्र गुफा संरक्षण तथा विकास समिति बनेको छ । त्यहि बेला देखि नै स्थानीय भानुभक्त भण्डारीलाई गुफाको रेखदेख, पुजाआजा, संरक्षण तथा गाइडको रुपमा कार्य गर्नेगरि जिम्मेवारी दिइएको छ । स्थानीयहरुले सुरु सुरुमा गुफा प्रबेश गर्न सहज होस भनेर बांसको मजबुत भर्याङ बनाएर गुफाको मुखमा राखेका थिए । जसको सहारामा मानिसहरु भित्र प्रबेश गर्ने गर्दथे । अहिले अबस्था फेरिएको छ, सो स्थानमा ब्यबस्थित रुपमा सिंढी निर्माण गरि तारबारको समेत ब्यबस्था गरिएको छ ।

गुफाभित्र भित्तामा कुँदिएका विभिन्न आकृति छन् । ती आकृति गुफा भेटिनु भन्दा पहिले नै बनेका आकृतिहरु हुन् । कैलाश पर्वतदेखि शिव पार्वतीका मूर्ति, गशेणको मूर्ति, थुनसहितको गाईको आकृति गुफाभित्र छन् । यस्तै गुफाभित्र नरसिंह अवतारको आकृति पनि देख्न सकिन्छ । यहां विभिन्न किसिमका चट्टानहरु छन् । गुफामा प्रकाश छिर्ने पत्थर, टल्किने धातु लगायत विभिन्न फरक शैलीका ढुंगाहरु देख्न सकिन्छ । गुफाभित्र भएको चुन ढुंगाबाट पहिले गाईको आकृतिमा बनेका थुनबाट दूधझैँ थोपा खसेने गरेकोमा गुफा भित्र प्रवेश गरेका मध्ये कसैले थुन भाँचि दिएपछि गाईको आकृतिबाट त्यसरी थोपा चुहिन छोडेको छ । त्यहांको चट्टानको कलाकृति हिन्दू धर्मावलम्वीहरुको ग्रन्थहरुमा आधारित कतिपय वर्णनसंग मेल खाने खालका छन । त्यसैले यसलाई धार्मिक दृष्टीले पनि हेर्नु पर्ने हुन्छ । गुफा भित्र माथि पहरोमा हजारौ चमेराको झुण्ड जतिबेला पनि देख्न सकिन्छ । तर बाहिर चमेरो उडेको देखिदैन् ।

यो गुफाको प्रचार प्रसार र समयानुकुल बिकाश गर्न सकेमा गुल्मी जिल्लाको लागि पर्यटक भित्रयाउने भरपर्दो आधार बन्न सक्दछ । सदरमुकाम तमघास माथि शीरमा रहेको रेसुङगा तथा अर्जुन भ्रमण गर्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई यहां सम्म पुर्याउन सकेमा मात्र पनि यसको महिमा अझ ब्यापक बन्न सक्दछ । कुनै पनि स्थानमा मानिसहरुको पहुंचको लागि आबस्यक भनेको सडक नै हो । गुफा सम्म पुग्न यातायातको सहज ब्यबस्थापन हुन सकेको अबस्थामा यहां मानिसहरुको घुइचो नलाग्ला भन्न सकिन्न । गुफा भित्र रहेको भुगर्वबिदहरु ल्याएर चट्टानहरुको अनुसन्धान गर्न आबस्यक देखिन्छ । त्यसको लागि सरोकारवालाहरुले भूगर्भविद् ल्याएर गुफाको अध्ययन तथा अनुसन्धान गर्न सकेमा गुफाको बास्तविक लम्बाई पत्ता लाग्न सक्छ, जसले गर्दा अहिले पुग्न नसकेको स्थानहरुको बारेमा पनि वास्तबिकता पत्ता लगाउन सहज हुन्छ ।