२३ भाद्र २०८१, आईतवार
गुल्मी प्रतिष्ठानको १९ औं साधारणसभा सम्पन्न
गुल्मी ८ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश सचिव लोकराज पोख्रेलले पछिल्लो समय लोक संस्कृति क्षेत्रमा विकृति भित्रिएको बताएका छन । उनले कला र संस्कृतिको जर्गेना सकेमा मात्र हाम्रो परम्परा र संस्कृतिको रक्षा गर्न सकिने बताउनु भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गुल्मी शाखाको १९ औं साधारणसभामा बोल्दै पोख्रेलले उक्त कुरा व्यक्त गर्नु भएको हो । सनिबार सदरमुकाम तम्घासमा सम्पन्न साधारण सभामा बोल्दै उहाँले प्रतिष्ठान गुल्मी शाखाले कला संस्कृतिको जगेर्नासँगै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण कार्य गर्दै आएको भन्दै प्रशंसा व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले संस्थाले स्थापनाको छोटो अबधिमा सामाजिक क्षेत्रमा धेरै रचनात्मक काम गर्दै आईरहेको बताउनु भयो । खत्रीले पछिल्लो समयमा लोक संस्कृतिमा बढ्दै गईरहेको विकृति र बिसंगतिलाई रोक्नु पर्नेमा जोड दिनुभयो । साधारण सभामा संस्थाका सचिव गणेश अधिकारी र कोषाध्यक्ष लोकेन्द्र कुँवरले साँगठनिक एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा इस्मा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष बिमला खत्री, पत्रकार महासंघका सचिव प्रेम सुनार लयागतले साधारण सभामा आफ्ना धारणा व्यक्त गर्नु भयो । साधारणसभामा कलाकारहरु उज्ज्वल गिरी, कमल कँडेल, लालुमाया कुँवर र धनमाया रानाले सांगीतिक प्रस्तुती रहेको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी अध्यक्ष शिलु भट्टराईको अध्यक्षता रहेको उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष मोहन बस्नेतले प्रतिष्ठाले जिल्लामा चाँडै नै गुल्मी लोकतारा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराए । उक्त कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्ष श्रीधर पोखरेलको सहभागिहरुलाई स्वागत गर्नु भएको थियो । साधारणसभामा विविध साँस्कृतिक कार्यक्रम सहित दरखाने कार्यक्रमको समेत आयोजना गरिएको थियो ।