गुल्मीका कृषक अर्यालद्वारा १ सय रोपनी क्षेत्रफलमा ३ सय मुरी भन्दा धेरै धान उत्पादन 

admin

२०८१ मंसिर ५ गते, बुधबार २०:२३ मा प्रकाशित

गुल्मी, ५ मंसिर । गुल्मीमा एउटा कृषकले आफ्नै मेहनतमा सबै भन्दा धेरै धान उत्पादन गरेर यतिबेला जिल्लादेखि बाहिरसम्म चर्चा कमाएका छन । जिल्लाको धुर्कोट गाउँपालिका–६ स्थित सिस्तुङ् फाँटमा कृषक मेघनाथ अर्यालले व्यवसायिक रुपमै जिल्लामा धेरै धान उत्पादन गरेर चर्चा बटुलेका हुन ।

कोरोना महामारीको समयमा शहरको बसाई त्यागेर आफ्नै गाउँ फर्किएर कृषि पेसा अँगालेका अर्यालले यस वर्षदेखि व्यावसायीक रुपमा धान खेतीमा लाग्नु भएको हो । अर्यालले आफ्नो जग्गा सहित थप जग्गा लिजमा लिएर धान खेती शुरु गर्नु भएको हो । अर्यालले गाउँमा बाँझिदै गरेका खेत लिजमा लिएर धान उत्पादन गर्ने र उत्पादीत धानलाई प्रशोधन गरि पहाडको चामल तराइसम्म पुराउने योजना बनाउनु भएको छ ।

अर्यालले आफुले पहिलो पटक उत्पादन गरेको धान प्रर्दशन गरेर रोजगारीका लागि परदेश झरेका तमाम युवाहरुलाई जाँगर भएमा स्वदेशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा जगाईदिनु भएको छ । अरबका खाडीमा तातो वालुवामा पसिना बगाउनु भन्दा पहाडका चिसा फाँटहरु कोतर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अर्यालले प्रस्तुत गर्नु भएको छ ।

जिल्ला स्थित विभिन्न कार्यालय र जनप्रनिधि बिच उत्पादित थान प्रर्दशन समेत गरिएको थियो । आयातित चामलको मूल्यका हिसाबले बढिरहेको समयमा जिल्लामै मिल स्थापना गरेर चामल निर्यात गर्न सकेमा कृषकको आम्दानीको श्रोत बढ्दै जाने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो । कृषि ज्ञानकेन्द्र गुल्मीले धान उत्पादन गर्ने कृषकलाई बीउ तथा साना सिंचाइमा सहयोग गर्ने गरेको बताईएको छ ।

अर्याले यसवर्ष धान प्याकेजिङ् गरेर बजारमा लैजाने तयारी गरिरहनु भएको छ । उहाँले । व्यावसायीक रुपमा जिल्लामा सबै भन्दा धेरै भैंसी पालन व्यावसाय समेत गर्नु भएका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रोहुँने गरेको भन्दै आफुले यस वर्ष ७ लाखको धान बिक्री गर्ने लक्ष्य राखेको बताउनु भएको छ ।

धुर्कोट गाउँपालिकाले धान उत्पादन गर्ने कृषक अर्याललाई धान प्रशोधन गर्ने मेसिन प्रदान गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताउनु भयो । उहाँले यसरी गाउँमा कृषि उत्पादन बढाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रमहरु समेत गर्दै आएको बताउनु भएको छ । धुर्कोट गाउँपालिकाले पहाडी क्षेत्रमा चिसो पानीमा अर्गानिक रुपमा उत्पादन भएको धानको चामल जिल्ला र जिल्ला बाहिर निर्यात एवं बजारीकरणमा सहयोग गर्ने अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो ।

बैदेशिक रोजगारिबाट स्वदेशमा फर्केपछि १६ वर्ष बुटवलमा बसेर गाउँ फर्किएका अर्यालले व्यावसायीक रुपमा कृषि पेशा गर्दै आउनु भएको ट । अर्यालको र्फममा अहिले ४२ वटा भैँसी समेत रहेका छन् । फर्मबाट हाल दैनिक रुपमा १ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।