८ जेष्ठ २०८२, बुधबार
गुल्मीको चन्द्रकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउपालिका घोषणा

गुल्मी, १४ वैशाख । गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति पालिका घोषणा गरिएको छ । चन्द्रकोट गाउँपालिकाले मातृ तथा नवजात मृत्यु न्यूनीकरण गर्ने उद्देश्यका साथ पालिकालाई पूर्ण संस्थागत प्रस्तुति सेवा युक्त पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप कार्यक्रम अनुसार चन्द्रकोटमा रहेका सबै वालवालीकालाई खोप दिए पश्चात चन्द्रकोट गाउँपालिकाकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।
गुल्मीको चन्द्रकोट गाउँपालिका लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तह मध्ये पूर्ण संस्थागत प्रसुतियुक्त गाउँपालिका घोषणा हुने प्रदेशको २० औं र गुल्मीको पाचौं गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ का अनुसार अहिले नेपालमा प्रति लाखमा १ सय ५१ र लुम्बिनी प्रदेशमा प्रति लाखमा २ सय ७ जना आमाको प्रसुतीकै क्रममा मृत्यु हुने गरेको छ ।
चन्द्रकोट गाउँपालिकाले १ वर्षमा प्रसुति गराएका १ सय ९० जना गर्भवती महिला मध्ये सय प्रतिशत अर्थात १ सय ९ जनाले नै स्वास्थ्य संस्थामा पुगेर प्रसुति गराएको, स्वास्थ्य प्रोटोकल अनुसार ४ पटक गर्भजाँच गराउने महिलाको संख्या ९७ दशमलब ८९ प्रतिशत र ३ पटक प्रसुती जाँच गराउने महिलाको संख्या ९८ दशमलब ९४ प्रतिशत पु¥याएर घरमा र बाटोमा प्रसुति गराउने गर्भवती महिलाको संख्या सुन्य बनाएपछि पालिकालाई पूर्ण संस्थागत सेवायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताउनुभयो । उहाँले पालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त बनाउन ६ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर बनाउनुका साथै सबै टोलबस्तीमा सुरक्षित मातृत्व सम्बन्धी सचेतना कार्यक्रम अभियान समेत निरन्तर चलाईएको बताउनु भयो ।
घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै सामाजिक र मानसिक स्वास्थ्य सेवाको पनि विस्तार गर्नु जरुरी रहेको बताउनु भएको छ । आइतवार पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गर्दै अब नागरिकको स्वास्थ्य जिवनका लागि सामाजिक, मानसिक र भावनात्मक स्वास्थ्य सेवा पनि सुधार गर्नु अनिवार्य रहेको बताउनुभयो । मन्त्री सारुले समाजमा निराशा र मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारले पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री सारुले प्रदेश सरकारले प्रति लाखमा ज्यान गुमाउने २ सय ७ आमाको संख्या आगामी वर्ष ७० मा झार्ने गरी कार्यक्रम बनाईरहेको र यसलाई अभियानकै रुपमा सञ्चालन गरिएको बताउनु भयो । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा पूर्वाधार निर्माण भन्दा सामाजिक स्वास्थ्य सेवामा बजेटलाई प्राथमिकता दिने उहाँको भनाई छ ।
घोषणा कार्यक्रममा गुल्मी जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ, रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, गुल्मीदरवार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा, वडा अध्यक्षहरु फणिन्दराज अर्याल, घनश्याम खरेल लगायतले चन्द्रकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुतीयुक्त गाउँपालिका घोषणालाई निरन्तर रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।