छैटौं पुल्चोक कपको उपाधि जनसहयोग माविलाई

admin

२०८२ भाद्र २२ गते, आईतवार १७:३६ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी ‐ यस वर्षको छैटौं पुल्चोक कप–२०८२ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको उपाधि जनसहयोग माध्यमिक विद्यालयले हात पारेको छ । तम्घासस्थित पुल्चोक स्पोटर्स क्लबको आयोजनामा सातौं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगितामा आदर्श विद्याआश्रमलाई १–० गोल अन्तरले पराजित गर्दै जनसहयोग माध्यमिक विद्यालयले उपाधि जितेको हो ।

सेमिफाइनलबाट रिडर्स पब्लिक हाइस्कुललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आदर्श विद्याआश्रम फाइनल खेलमा प्रवेश गरेको थियो । महेन्द्र नमुना माध्यमिक विद्यालयलाई ६–० गोलले पराजित गर्दै जनसहयोग माध्यमिक विद्यालय पनि फाइनलमा प्रवेश गरेको हो । फाइनल खेलमा उपाधि लागि खेल सुरु भएको दोस्रो हापको ६२ मिनेटमा जनसहयोग माध्यमिक विद्यालयकी छात्रा रचना गुरुङ्गले गोल गरेकी हुन ।

छैटौं पुल्चोक कप–२०८२ को उपाधिसँगै जनसहयोग माध्यमिक विद्यालयले पहिलो पटक पुल्चोक कपको उपाधि हात पार्न सफल बनेको हो । खेललाई बराबरीमा लैजानका लागि आदर्श विद्याआश्रमका खेलाडीले अन्तिमसम्म आक्रामक खेल प्रदर्शन गरे पनि गोल नतिजा हात पार्न सकेनन् । जनसहयोग माध्यमिक विद्यालयले छैटौं पुल्चोक–२०८२ को उपाधि जितेसँगै ३४ हजार ४ सय ४४ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी पुल्चोक कपको उपविजेता बनेको आदर्श विद्या आश्रमले २३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्लेयर अफ दी म्याच जनसहयोग माध्यमिक विद्यालयकी खेलाडी रचना गुरुङ्ग, उत्कृष्ट गोल रक्षक सोही विद्यालयकी सोनम रसाइली, उत्कृष्ट फर्वाड एलिशा गुरुङ्ग, इमर्जिङ्ग प्येलेयर सुस्मा सोमै बनेका छन ।

आदर्श विद्या आश्रमकी खेलाडी सुप्रभा खड्का प्लेयर अफ दी टुर्नामेन्ट र सर्वाधिक गोलकर्ता बनेकी छन । सोही विद्यालयका सिया गुरुङ्ग उत्कृष्ट डिफेन्डर बनेकी छन । प्रतियोगितमा अनुशासित समूह गण्डकी बोर्डिङ्ग स्कुल बनेको छ । रेसुङ्गा नगरपालिकाको उनायचौर खेल मैदानमा गत बुधबारदेखि सञ्चालन भएको छात्रा फुटबल प्रतियोगितामा ११ विद्यालयहरु सहभागि बनेका थिए ।

महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लव स्थापनादेखि छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको पुल्चोक स्पोटर्स क्लवका अध्यक्ष प्रकाश मरासिनीले बताए ।