३ बैशाख २०८३, बिहीबार
गुल्मीको आँपचौर–शान्तिपुर सडक आजदेखि तिन साताका लागि बन्द हुने
गुल्मी, २७ कात्तिक । गुल्मीको आँपचौर–शान्तिपुर सडक तिन साताका लागि बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुर खण्डको १९ किलोमिटर सडक स्तरोन्नतीको काम गर्नुपर्ने हुँदा केही समयका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरि आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडक खण्डमा सवारी आवागमन बन्द हुने जानकारी गराएको छ । उक्त सडक प्रत्यक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १२ बजेदेखि बेलुकी ५ः३० बजेसम्म सडक बन्दहुने भएको हो । उक्त समयमा अन्य वैकल्पिक सडक मार्ग प्रयोग गरि यात्रा गर्न र सवारी साधनहरु सञ्चालन गर्न कार्यालयले अनुरोध गरेको छ ।
उक्त सडक खण्डमा ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई रुपन्देहीले सडकमा ब्याक कटिङ्को काम गर्नु परेको भन्दै केही समयमा लागि सडक बन्द गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेपछि कार्यालयको तर्फबाट सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । उहाँले उक्त कार्यमा सहयोग र समन्वयका लागि सबैमा आग्रह समेत गर्नुभएको छ ।
यस सम्बन्धमा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले भने सडक निर्माणको लागि सहयोग गर्न आफुहरु सधै तयार रहेको तर स्थानीय तहसँग समन्वय नगरिएको बताउनु भएको छ । उहाँले यही कात्तिक २९ गतेदेखि त्यस क्षेत्रमा लाग्ने सबै भन्दा ठूलो चक्रेश्वर मेला सञ्चालन हुन लागेको हुँदा सवारी साधनहरुलाई कुन वैकल्पीक सडक प्रयोग गर्ने भन्ने समेत अन्योल परेको बताउनुभयो ।
मुसिकोट नगरपालिकाको इन्द्रेगौडादेखि शान्तिपुरसम्मको १९ किलोमिटर सडक कालोपत्रका लागि स्तरोन्नतीको काम भैरहेको छ । उक्त सडक निर्माणका लागि टुण्डी‐बिडारी जेभीद्वारा ५२ करोड लागतमा निर्माण सम्झौता गरि गत वर्षदेखि काम शुरु भैरहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजना रुपन्देहीका इन्जीनियर तिलक बहादुर गाहले जानकारी दिनुभएको छ ।

