१ चैत्र २०८२, आईतवार
महायज्ञबाट गुल्मीमा तिन करोड भन्दा बढी रकम सङ्कलन
गुल्मी, २६ मंसिर । क्याम्पसको शैक्षिक विकासका लागि गुल्मीको सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा सवा तिन करोड नगद रुपैयाँ सङ्कलन भएको छ । सत्यवती गाउँपालिका –५ हँसरा स्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवं विश्व शान्ति विराट धनधान्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम संङ्कलन भएको हो ।
क्याम्पसको दीर्घकालिन शैक्षिक विकासका लागि तिन करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने उद्देश्यले मङ्सिर १८ गतेदेखि २५ गतेसम्म उक्त महायज्ञ आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन भएको महायज्ञबाट नगद तिन करोड १५ लाख रुपैयाँ सङ्कलन भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले जानकारी दिनुभयो । त्यसका अतिरिक्त महायज्ञमा सात सय मुरी धान र ३० क्वीण्टल चामल समेत सङ्कलन भएको संयोजक ढकालले बताउनुभयो ।
महायज्ञमा सबै भन्दा धेरै आर्थिक सहयोग गर्नेमा सत्यवती ५ रघेवा जन्मस्थानभई हाल वेलायत बस्दै आउनुभएका सफल व्यावसायी काशिराम भण्डारी हुनुहुन्छ । उहाँले व्यक्तिगत रुपमा १६ लाख ५० हजार रुपैयाँ महायज्ञमा क्याम्पसका लागि सहयोग गर्नु भएको हो । उहाँले क्याम्पस हाताभित्र निर्माण गरिने सरस्वती मन्दिरका लागि पनि थप एक लाख रुपैयाँ सहयोग गर्ने बताउनु भएको छ ।
त्यसैगरी सत्यती ‐८ भार्से हाल हङ्कङ् निवासी कुल बहादुर बुढाथोकीले दश लाख एक हजार रुपैयाँ, वेलायतमा रहनुहुने केशव ज्ञवालीको परिवारले दश लाख रुपैयाँ, स्थानीय लक्ष्मण भण्डारी सात लाख र गोम बहादुर भुसालले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको महायज्ञका आर्थिक समिति संयोजक ढकालले जानकारी दिनुभयो ।
२०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यावस्थापन संकायमा अध्ययन हुँदै आएको छ । उक्त क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना गरिएको थियो । त्रिभुवन विश्व विद्यालयको अनुदानले मात्र क्याम्पसको आर्थिक व्यवस्थापनमा समस्या भएका कारण महायज्ञ सञ्चालन गर्नु परेको महायज्ञ मूल समारोह समिति अध्यक्ष पिताम्बर ज्ञवालीले बताउनुभयो । उहाँले महायज्ञको खर्च कटाएर बचत रकमलाई अक्षय कोषमा राखेर त्यसै मार्फत क्याम्पस सञ्चालन खर्च व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन गरिएको थियो ।

