बौद्धिक अपांगता भएकाहरू विद्यार्थी र व्यक्तिहरूलाई न्यानो कपडा सहयोग

admin

२०८२ पुष २६ गते, शनिबार १५:५७ मा प्रकाशित

रेसुङ्गा समाचारदाता

गुल्मी – गुल्मीमा बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । राधामाधव समिति अन्तर्गत रेसुंगा सत्संग केन्द्रले बौद्धिक अपांगता भएका विद्यार्थी र व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

उपल्लो तम्घास माध्यमिक विद्यालयका २६ जना बौद्धिक अपांगता भएका विद्यार्थीहरू र तम्घासस्थित अन्य १३ जना बौद्धिक अपांगता भएका व्यक्ति गरि कुल ३९ जनालाई न्यानो कपडा वितरण गरिएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले बताए । तलमाथि लगाउने बाक्लो न्यानो गुणस्तरीय कपडा वितरण गरेको उनले बताए ।

समितिले शनिबार श्री जगदगुरु कृपालुजी महाराजले जगदगुरुत्तम उपाधि पाएकाे दिनलाई स्मरण गर्दै प्रत्येक वर्षजस्तै यसवर्ष पनि न्यानो कपडा सहयोग गरेको हो । यसअघि नै त्यस्ता व्यक्तिहरूलाई भेटेर आ-आफ्नै नापअनुसार तलमाथि लगाउने बाक्लो न्यानो कपडा बनाइएको थियो । सबैले आ-आफ्नो साइजअनुसार कपडा पाएका छन् । साथै भजनकृतन गरेर पनि मनोरञ्जन दिलाइएकाे थियो ।

राधामाधव समिति रेसुंगा सत्संग केन्द्रले सामाजिक, धार्मिक तथा साँस्कृतिक क्षेत्रमा कार्य गर्दैआएको छ । रेसुंगा गाैशलामा रहेका गाईहरुलाई आहारविहारमा सहयोग गर्दै आइरहेको यस संस्थाले विद्यार्थी, विपन्न तथा असहायहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा खाद्यान्न सहयोग गर्दै आइरहेको छ । सहयोगी संस्था रेसुंगा सत्संग केन्द्रलाई त्यस्ता अपांगता भएका व्यक्तिका अभिभावकहरूले धन्यवाद दिएका छन् ।

क्याप्सन : न्यानो कपडा सहयोग पाएपछि सामुहिक तस्बिरमा ।