गुल्मी–१ मा फराकिलो मतान्तर सहित सागर ढकाल विजयी

admin

२०८२ फाल्गुन २३ गते, शनिबार १७:४२ मा प्रकाशित

गुल्मी, २३ फागनुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढाकाल विजयी हुनभएको छ । सनिबार दिउसो सम्पन्न अन्तिम मत गणनामा १४ हजार ४६१ मतान्तरले पराजित गर्दै ढकाल पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार अन्तिम मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्हका उम्मेदबार ढकालले २९ हजार ६४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । ढकालका निकटतम प्रतिस्पर्धी नेकपा एमाले (सूर्य) चिन्हका उम्मेदवार ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै नेपाली काँग्रेसको तर्फबाट (रुख) चिन्हका उम्मेदवार चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत प्राप्त गर्दै तेस्रो स्थान र नेपाल कम्युनिस्ट पार्टी (तारा) चिन्हका उम्मेदवार शुदर्शन बरालले ३ हजार १६७ मत प्राप्त गर्नुभएको थियो ।

कुल एक लाख २२ हजार १८६ मतदाता रहेको उक्त क्षेत्रमा ६४ हजार ८२२ मत खसेकोमा ६२ हजार ८८० मत सदर भएको थियो । मतगणनाको क्रममा ढकालको शुरुदेखिको अग्रता अन्तिम समयसम्म कायम रहेको थियो । ढकालले त्यस क्षेत्रका पुराना र अनुभवी नेताहरु ज्ञवाली र भण्डारीलाई पछि पार्दै जित निकाल्न सफल हुनुभएको थियो ।

नवनिर्वाचित ढकाललाई मुख्य निर्वाचन अधिकृत पौडेलले विजय भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमाणपत्र बुझेपछि समर्थक र कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ढकालले रास्वपाको सरकार बनेपछि कार्की आयोगको प्रतिबेदनका दोषीहरुलाई कार्वार्ही गर्ने बताउनु भएको थियो । उहाँले देशमा भष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको थियो ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६ मा २०४८ साल बैशाख २८ गते जन्मिनु भएका सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चर्चित तथा प्रभावशाली युवा नेता मध्यमा पर्नुहुन्छ । पेशाले इन्जिनियर रहनुभएका ढकाल पछिल्लो समय नेपाली राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा स्थापित हुँदै आउनुभएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि उहाँ राष्ट्रिय राजनीतिमा चर्चामा आउनु भएको थियो । उक्त निर्वाचनमा ढकालले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष रुपमा डडेल्धुराबाट प्रतिस्पर्धा गर्नुभएको थियो । स्थापित र शक्तिशाली राजनीतिक व्यक्ति देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिदा उहाँले फराकिलो मतान्तरले हार व्यहोर्नु परेको थियो । त्यसपछि ढकाल राष्ट्रिय स्तरमै परिचित हुनुभएको थियो ।

राजनीतिमा प्रवेश गर्नुअघि नै सामाजिक अभियन्ताका रूपमा सक्रिय ढकाल शिक्षा, युवा सशक्तीकरण, विकास र सुशासनका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । उहाँ विशेषगरी युवालाई नेतृत्वमा ल्याउनुपर्ने, राज्य सञ्चालनमा पारदर्शिता कायम गर्नुपर्ने र भ्रष्टाचाररहित, उत्तरदायी शासन प्रणाली निर्माण गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ । राजनीतिमा सक्रिय ढकाल परम्परागत दल र पुरानै शैलीको राजनीति भन्दा फरक साेंच र नयाँ कार्यशैली आवश्यक रहेको बताउँदै आउनु भएको छ ।

ढकाललको जीतलाई मतदाताहरुले नयाँ राजनीतिक शक्ति र पुरानो राजनीतिक संरचनाबीचको परिवर्तनको संकेतका रूपमा लिएका छन् ।