१४ बैशाख २०८३, सोमबार
गुल्मीमा बद्रीनाथ गैह्रेको प्रवेश: सुरक्षित व्यवसायिक वातावरण निर्माण प्राथमिकतामा
गुल्मी । गुल्मी जिल्लामा भर्खरै सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीनाथ गैह्रे को आगमनका अवसरमा गुल्मी उद्योग वाणिज्य सङ्घले एक विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ।
संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव चेत नारायण पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। वरिष्ठ उपाध्यक्ष तारा प्रसाद भुसालले स्वागत मन्तव्य राख्दै जिल्लाको आर्थिक–व्यापारिक वातावरण सुदृढ बनाउन निजी क्षेत्र र प्रशासनबीचको सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष इश्वरी प्रसाद पौडेलले शुभकामना व्यक्त गर्दै नवागन्तुक सीडीओको कार्यकालमा जिल्ला राम्रो दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, संघका पूर्व अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न क्षेत्रका व्यवसायीहरूको उपस्थिति रहेको थियो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लामा शान्ति–सुरक्षाको दृढ प्रत्याभूति दिलाउँदै व्यावसायिक वातावरण सुरक्षित र सहज बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले “व्यवसायीहरू ढुक्क भएर कारोबार गर्न सक्ने वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो। प्रशासन निजी क्षेत्रसँग सँगसँगै अघि बढ्न तयार छ, सहकार्यका साथ जिल्लालाई समृद्ध बनाउनेछौँ,” भन्ने धारणा राख्नुभयो।
कार्यक्रमले जिल्ला प्रशासन र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

