१४ बैशाख २०८३, सोमबार
इनिशाको हत्या घटनाप्रति गुल्मीका अधिकारकर्मीको ध्यानाकर्षण
गुल्मी, २८ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा ट्युसन पढ्न गएकी बालीका इनिशा वि.क.माथि भएको सामूहिक जबरजस्ती करणीपछि गरिएको पाशविक हत्या घटनाप्रति गुल्मीमा क्रियाशील विभिन्न अधिकारकर्मी तथा नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
गत फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ शहीद पार्क नजिक रहेको जनजागरण सामुदायिक वन क्षेत्रमा ट्युसन पढ्न गएकी किशोरी इनिशा वि.क.माथि सामूहिक बलात्कार गरी हत्या गरिएको घटनालाई अमानवीय, जघन्य र निन्दनीय भन्दै उनीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
दलित अधिकारकर्मी, सामाजिक अभियान्ता, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले बिहीबार संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन । घटनाले समाजलाई गम्भीर रूपमा स्तब्ध बनाएको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा उनीहरूले यस्ता जघन्य अपराधमा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग जोडदार रुपमा माग गरेका छन् ।
ज्ञापनपत्रमा महिलामाथि हुने हिंसा र दलित समुदायमाथि हुने विभेदका घटनाहरू रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने तथा सुरक्षा व्यवस्था थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । साथै यस्ता घटनाले समाजमा असुरक्षा बढाउने भएकाले अपराध नियन्त्रण र पीडितलाई न्याय दिलाउन सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिइएको छ ।
अधिकारकर्मीहरूले मृतक किशोरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेका छन् ।
ा

