१८ बैशाख २०८३, शुक्रबार
प्रथम चन्द्रकोट महोत्सव तथा चैते दसैं मेला’ सुरु
जनार्दन घिमिरे
गुल्मी ११ चैत। । गुल्मीको चन्द्रकोट गाउँपालिकामा ‘प्रथम चन्द्रकोट महोत्सव तथा चैते दसैं मेला’ सुरु भएको छ । ‘कृषि, पर्यटन, खेलकुद र संस्कृति : हाम्रा मूल आधार’ भन्ने नाराका साथ चन्द्रकोट क्षेत्र विकास समितिको आयोजनामा मंगलबारबाट महोत्सव सुरु गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि, पर्यटन महोत्सवले पालिकाको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी उहॅाले पालिकाभित्र रहेका दिब्रुङ्ग दह, टिमुरे ताल, चक्रेश्वर मन्दिर, अर्जेवा झरना, दिब्रुङ्ग शिवालय मन्दिर लगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार हुने बताउनुभयो ।
महोत्सवकै अवसरमा विभिन्न प्रतियोगिताहरुको पनि आयोजना गरिएको छ । १४ गतेसम्म चल्ने महोत्सवमा वडास्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता, महिला नृत्य प्रतियोगिता, शंखधुन, खुल्ला भेन्टास लगायतका प्रतियोगिताहरुको पनि आयोजना गरिएको चन्द्रकोट क्षेत्र विकास समितिका सचिव घनश्याम गौतमले जानकारी दिनुभयो ।
महोत्सवमा रहेका स्टलहरुमा पिङ, विभिन्न स्थानीय खानाका परिकार राखिएको छ ।
महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने सचिव गौतमले जानकारी दिनुभयो ।
स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि बृद्धि, स्थानीय उत्पादनको प्रचार, सामाजिक एकता र सद्धाव, मनोरञ्जन र सचेतनाका साथै चन्द्रकोटको दीगो विकास गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन सत्रको अवसरमा विभिन्न झाँकी सहित र्याली समेत आयोजना गरिएको थियो ।

