गुल्मीमा कफीको उत्पादन र व्यवसायिकीकरणमा जोड

admin

२०८३ बैशाख २० गते, आईतवार २१:३४ मा प्रकाशित

गुल्मी, २० वैशाख । पछिल्लो समयमा गुल्मीमा कफीको उत्पादन घट्दै गएको भन्दै जिल्लामा कफीको उत्पादन र यसको व्यवसायिकीकरणमा जोड दिनुपर्ने बताइएको छ । रूरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गुल्मीलाई कफीको व्यवसायिक उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्नका लागि नीति, कार्यक्रम र बजेटबीच स्पष्ट तालमेल आवश्यक रहेको बताउनु भएको हो ।

रूरुक्षेत्र गाउँपालिका –४ स्थित कफी अनुसन्धान कार्यक्रम परिसरमा आयोजित कफी उत्पादन, प्राथमिक प्रशोधन, भण्डारण तथा बजारीकरण सम्बन्धी तीन दिने जिल्ला स्तरीय तालिम समापन कार्यक्रमा अध्यक्ष ज्ञवालीले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समयमा जिल्लामा कफी उत्पादन घट्दो क्रममा रहेको उल्लेख गर्दै उहाँले गुल्मीमा कफीको इतिहास जोगाउन स्थानीय तहले थप प्रभावकारी योजना अघि सार्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले कफीको जिल्ला भनेर चिनिने गुल्मीलाई केवल नारामा मात्र सीमित नगरी ठूलो परिमाणमा बगैँचा विस्तार, व्यावसायिक उत्पादन र कफी पर्यटनसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ज्ञवालीले गुल्मीमा कफीको क्षेत्रमा परिणाम दिने गरी काम गनु पर्र्ने आवश्यक रहेको बताउनु भएको छ ।

तालिममा कफी उत्पादनदेखि प्रशोधन, भण्डारण र बजार व्यवस्थापनसम्मका विषयमा जानकारी गराईएको थियो । तीन दिनसम्म सञ्चालन गरिएको तालिममा कफी खेतीको परिचय, जातीय गुण तथा विशेषता, काँटछाँट तथा पुनर्जीवन, बगैँचा स्थापना, एकीकृत खाद्यतत्व व्यवस्थापन, गुणस्तरीय बीउ उत्पादन, नर्सरी व्यवस्थापन, रोग तथा कीरा पहिचान र व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो ।

यस्तै बोर्डो पेस्ट तथा मिश्रणको प्रयोग, कफी टिप्ने सही समय र तरिका, ग्रेडिङ, प्याकेजिङ, कफी पल्पिङ, लेबलिङ, भण्डारण तथा गोदाम व्यवस्थापन लगायत सैद्धान्तिक तथा व्यवहारिक ज्ञानसमेत प्रदान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीमा प्रमुख एवं वरिष्ठ कृषि अधिकृत नवराज पण्डितले जानकारी दिनुभएको छ ।

कार्यक्रममा सहभागी कृषकहरूले कफीमा लाग्ने गवारोको समस्या,बगैँचा व्यवस्थापनमा कठिनाइ, प्राविधिक ज्ञानको अभाव, रोग तथा कीरा पहिचानमा समस्या, जात छुट्याउन नसक्नु, रोपण विधि र नर्सरी व्यवस्थापनमा चुनौती रहेको बताएका थिए । कृषकहरूले उत्पादन बढाउन प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा, रोग–कीरा व्यवस्थापन तथा बजार सुनिश्चितताका लागि स्थानीय तहको थप सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

तालिममा कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्जन गौतम, वरिष्ठ कृषि अधिकृत नवराज पण्डित तथा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल लगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी कृषकहरूले कफीमा लाग्ने गवारोको समस्या, बगैँचा व्यवस्थापन, प्राविधिक ज्ञान अभाव, रोग–कीरा पहिचान, जात पहिचान, रोपण विधि तथा नर्सरी व्यवस्थापन मुख्य समस्या रहेको बताएका थिए । उक्त तालिमले कफीको उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार तथा बजारको पहुँच विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको सहभागिहरुले बताएका थिए ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको आयोजनामा सञ्चालन भएको उक्त तालिममा जिल्लाका १० स्थानीय तहका अगुवा कफी कृषकहरूको सहभागिता रहेको थियो ।